काठमाडौं । नेपाली कांग्रेसका नेता गुरूराज घिमिरेले विशेष महाधिवेशन रोक्न नेतृत्वले जबर्जस्ती गरे त्यसबाट उत्पन्न हुन सक्ने कुनै पनि राजनीतिक दुर्घटनाको सम्पूर्ण जिम्मेवारी नेतृत्वले नै लिनुपर्ने चेतावनी दिएका छन्।
केन्द्रीय कार्यसमितिले पूर्वनिर्धारित नियमित महाधिवेशन आगामी वैशाखमा सार्ने निर्णय गरेपछि घिमिरेले यस्तो प्रतिक्रिया दिएका हुन्। विशेष महाधिवेशनको मागलाई बेवास्ता गरेर पार्टी अघि बढ्न नसक्ने उनको भनाइ छ।
विशेष महाधिवेशनको माग गर्दै देशव्यापी हस्ताक्षर अभियान चलाइरहेका नेतामध्येका एक घिमिरेले शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत लेखेका छन्, ‘विशेष महाधिवेशनको मागलाई सम्बोधन नगरी पार्टी नेतृत्व अघि बढ्न सक्दैन। यदि जबर्जस्ती गरियो भने भविष्यमा हुनसक्ने राजनीतिक दुर्घटनाका लागि नेतृत्व स्वयं जिम्मेवार हुनेछ।’
कांग्रेसले ७५ वर्षअघि हुकुमी शासनको अन्त्य गरेको इतिहास स्मरण गराउँदै उनले अहिले पार्टीभित्रै हुकुमी शासनको झल्को दिने अभ्यास देखिन थालेको टिप्पणी गरेका छन्। ‘नेतासरह वा त्यसभन्दा बढी योगदान गरेका पार्टी सदस्यलाई रैतीझैँ व्यवहार गर्ने, पार्टीलाई निजी जमिन्दारी र घरेलु मामिलाजस्तो ठान्ने प्रवृत्ति सर्वथा निन्दनीय छ,’ उनले उल्लेख गरेका छन्।
वर्तमान चुनौतीपूर्ण राजनीतिक परिस्थितिमा पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्न विशेष महाधिवेशनको मागलाई गम्भीरतापूर्वक सम्बोधन गर्न उनले पार्टी नेतृत्वलाई आग्रह गरेका छन्।
प्रकाशित मिति: १९ पुस २०८२, शनिबार













प्रतिक्रिया