रुपन्देही । बहुविवाहको आरोपमा पक्राउ परेका नवलपुरमा कार्यरत नेपाल प्रहरीका प्रहरी नायब उपरीक्षक (डीएसपी) मधु नेपाललाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ।
मंसिरको तेस्रो साता, बहुविवाहसम्बन्धी उजुरी परेकोपछि डीएसपी नेपाल र असई गीता पुरीविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो। दुवै पक्राउ परेपछि उनीहरू रुपन्देही प्रहरीले सम्हालेका थिए।
रुपन्देही जिल्ला अदालतका न्यायाधीश चाणक्यमणि अर्यालको इजलासले डीएसपी नेपाललाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएपछि उनी कारागार लगिएका हुन्। तर उनीसँगै पक्राउ परेकी असई गीता पुरीलाई अदालतले ३० हजार रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको छ।
यो मुद्दा डीएसपी नेपालको जेठी पत्नी तारा नेपाल खनालले श्रीमानमाथि बहुविवाहको उजुरी दर्ता गरेपछि अदालतमा पुगेको हो। डीएसपी नेपाल जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीमा कार्यरत थिए भने गीता पुरी बुटवलस्थित धागो कारखानामा नेपाल प्रहरी विशेष सुरक्षा गणमा असईको रूपमा कार्यरत छिन्।
अदालतमा डीएसपी नेपालले गीता पुरीसँग आफ्नो प्रेम सम्बन्ध रहेको र ‘लिभिङ टुगेदर’को क्रममा सन्तान जन्मिएको बयान दिएका छन्। उनले पहिलेकी पत्नीको सल्लाहमा दोस्रो बिहे गरेको दाबी पनि अदालतमा गरेका छन्। गीता पुरीको पक्षमा ५ वर्षीया छोरी र २ वर्षको छोरा छन्।
रुपन्देही प्रहरी प्रवक्ता सुरज कार्कीका अनुसार, अदालतको आदेश अनुसार मधु नेपाल पुर्पक्षका लागि कारागार लगिएका छन् भने गीता पुरी धरौटीमा रिहा भएकी छिन्।
प्रकाशित मिति: २० पुस २०८२, आइतबार












प्रतिक्रिया