काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ महाअभियानका संयोजक दुर्गा प्रसाईंले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विदेशी शक्तिको योजनामा तयार पारिएका पात्र भएको आरोप लगाएका छन्।
आइतबार काठमाडौंमा आयोजित ‘राष्ट्रिय संकल्प : पृथ्वीपथ’ विषयक कार्यक्रमलाई सम्बोधन गर्दै प्रसाईंले यी नयाँ राजनीतिक अनुहारहरूलाई अमेरिकन युथ काउन्सिल र बेलायती काउन्सिलले छनोट गरी प्रशिक्षण दिएर नेपाल पठाएको दाबी गरे।
उनले भने, ‘बोल्न जान्ने, आकर्षक र प्रभाव पार्न सक्ने युवाहरूलाई अमेरिकन र ब्रिटिस काउन्सिलले छानेर प्रशिक्षण दियो। पहिले बालेनमार्फत परीक्षण गरियो, बालेन सफल भएपछि संसदीय निर्वाचनमा रवि लामिछानेलाई अघि सारियो।’
प्रसाईंले विवेकशील साझा पार्टीको आधारमा हालको नयाँ राजनीतिक वातावरण निर्माण गरिएको र यसका पछाडि विदेशी डिजाइन रहेको जिकिर गरे। उनका अनुसार पुराना दल र नेताहरूको भूमिका समाप्त भएपछि विदेशी शक्तिले नयाँ पात्रहरू ‘लन्च’ गरेको हो।
नेपालमा हिन्दू राष्ट्र र राजसंस्था अन्त्य गर्ने प्रयास २००४ सालदेखि नै सुरु भएको दाबी गर्दै उनले २००७ सालको राजनीतिक परिवर्तन, राजा महेन्द्रको निधन, २०३६ सालको जनमत संग्रह, २०४६ सालको आन्दोलन, माओवादी जनयुद्ध हुँदै २०७२ सालको संविधानसम्म आइपुग्दा देशलाई योजनाबद्ध रूपमा कमजोर बनाइएको आरोप लगाए।
‘२०७२ को संविधानमा धर्मनिरपेक्षता, गणतन्त्र र संघीयता समावेश हुनु नै राजसंस्था र हिन्दू राष्ट्र समाप्त गर्ने खेल थियो,’ उनले भने, ‘बीचमा राजा महेन्द्रले केही समय यसलाई रोक्ने प्रयास गरेका थिए, तर अहिले त्यो मिसन पूरा गरिँदैछ।’
देशको पक्षमा बोल्दा आफूलाई धम्की र त्रास देखाइने गरेको उल्लेख गर्दै प्रसाईंले आफू मृत्युसँग नडराउने स्पष्ट पारे। ‘मृत्यु अमृत हो, त्यसलाई स्वीकार गर्न सकिन्छ, तर देश सिध्याउने खेलको साक्षी भएर बस्न सकिँदैन,’ उनले भने।
उनले अब देश जोगाउन अन्तिम लडाइँ लड्ने समय आएको दाबी गर्दै समान सोच राख्ने शक्तिहरू एकजुट हुनुपर्ने आवश्यकता औंल्याए।
प्रकाशित मिति: २० पुस २०८२, आइतबार













प्रतिक्रिया