काठमाडौं । काठमाडौँको दशवटा मध्ये ९ वटा निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको जिम्मेवारी महिलाले पाएका छन्।
फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा आयोगले आइतबार निर्वाचन अधिकृत नियुक्त गरी सार्वजनिक गरेको छ।
जसमा काठमाडौँ क्षेत्र नम्बर १ को समेत जिम्मेवारी लिने गरी काठमाडौँको मुख्य निर्वाचन अधिकृत जिल्ला अदालतका मुख्य न्यायाधीश चुरामन खड्का रहेका छन्। उनी बाहेक बाँकी क्षेत्रमा निर्वाचन आयोगले महिलालाई निर्वाचन अधिकृतको जिम्मेवारी दिएको हो।
आयोगका अनुसार काठमाडौँ २ को निर्वाचन अधिकृतमा महान्याधीवक्ता कार्यालयकी शान्ति न्यौपानेले जिम्मेवारी पाएकी छिन्। काठमाडौँ ३ मा महालेखा नियन्त्रक कार्यालयमा कार्यरत चमिला भट्टराई, काठमाडौँ ४ मा उच्च सरकारी वकिल कार्यालय पाटनकी कृष्णा भण्डारी, काठमाडौँ ५ मा कानुन मन्त्रालयकी श्रद्धा रिजाल निर्वाचन अधिकृतको जिम्मेवारी पाएकी छिन्।
त्यस्तै काठमाडौँ ६ मा उच्च सरकारी वकिल कार्यालय पाटनमा कार्यरत चपला पोखरेल, काठमाडौँ ७ मा आन्तरिक राजस्व विभागकी सविता शर्मा, काठमाडौँ ८ मा रक्षा मन्त्रालयमा कार्यरत सम्झना खनाल, काठमाडौँ ९ मा प्रधानमन्त्री कार्यालयमा कार्यरत मनुका घिमिरे र काठमाडौँ १० मा सर्वोच्च अदालतमा कार्यरत अमृताकुमारी शर्मालाई आयोगले जिम्मेवारी दिएको छ।
निर्वाचन अधिकृतको जिम्मेवारी पाउनेहरु उपसचिव तहका हुन्।
फागुन २१ गते हुने चुनावका लागि माघ ६ गते उम्मेदवारी दर्ता तोकिएकाले आयोगले तयारी अघि बढाएको हो। आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार केही दिनमै आयोगले निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्दैछ।
प्रकाशित मिति: २० पुस २०८२, आइतबार













प्रतिक्रिया