काठमाडौं । टीकापुर हत्याकाण्डमा तीनै तहका अदालतबाट दोषी ठहर भई जन्मकैदको सजाय भोगिरहेका रेशम चौधरीलाई सरकारले दिएको आममाफीको निर्णयविरुद्ध दायर रिटमा आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ। करिब दुई वर्षदेखि सुनुवाइ हुन नसकेको उक्त रिटमा आजका लागि पेसी तोकिएको हो।
रेशम चौधरीलाई आममाफी दिएको भोलिपल्ट, अर्थात् २०८० जेठ १६ गते, टीकापुर घटनामा ज्यान गुमाएका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी शारदा कडायतले सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेकी थिइन्। उक्त रिटमाथि २०८० जेठ २३ गते न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले कारण देखाऊ आदेश जारी गर्दै अग्राधिकार प्रदान गरेको थियो।
सरकारका सम्बन्धित निकायहरूले तोकिएको समयसीमाभित्र, साउन ८ गतेभित्रै, सर्वोच्च अदालतमा लिखित जवाफ पेस गरिसकेका थिए। तर लिखित जवाफ पेस भएपछि पनि अहिलेसम्म यस मुद्दाको नियमित सुनुवाइ हुन सकेको छैन। कारण देखाऊ आदेश जारी भएको दुई वर्ष बितिसक्दा पनि मुद्दा निष्कर्षमा पुग्न सकेको छैन।
यसबीच मुद्दा दुई पटक इजलासमा पुगे पनि सुनुवाइ हुन सकेन। २०८० पुस १६ गते एक पटक सुनुवाइ स्थगित भएको थियो भने त्यसको एक वर्षपछि, २०८१ माघ २७ गते, पेसी तोकिए पनि बेन्च नबस्दा सुनुवाइ हुन पाएन।
अब उक्त रिटको अर्को पेसी मङ्सिर २५ गतेका लागि तोकिएको छ। तर सो दिन सुनुवाइ हुने–नहुने अझै अनिश्चित रहेको छ। हालसम्म यस मुद्दामा १३ पटकसम्म पेसी तोकिए पनि २०८१ असार ६ गते साप्ताहिक पेसी सूचीबाट हटाइएको थियो।
प्रकाशित मिति: २१ पुस २०८२, सोमबार












प्रतिक्रिया