काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले ऊर्जामन्त्री कुलमान घिसिङलाई सरकार छोड्न आदेश दिएकी छन्। सोमबार बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्रीले कुलमानलाई सरकारबाट बाहिर गएर चुनाव र पार्टीको काममा लाग्दा राम्रो हुने बताइएकाे स्रोतले जनाएको छ।
स्रोतका अनुसार, ‘समयमै चुनावको वातावरण तयार गर्न सरकारमा बसेर कुलमानले राम्रो भूमिका खेलेका छन्, अब चुनावतर्फ जाने र पार्टी काममा लाग्ने हो भने त्यस बेला जान सकिन्छ’ भन्ने सन्देश प्रधानमन्त्रीले दिएकी हुन्।
कुलमानले पहिले उज्यालो नेपाल पार्टी खोल्दा राजिनामा दिन खोजेका थिए। तर त्यसबेला प्रधानमन्त्री कार्कीले सुरु गरिएका कामहरू पूरा गर्न भनेपछि रोकिए। सो पार्टीमा कुलमान संरक्षकको भूमिका मात्र निर्वाह गरेका थिए। तर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उपसभापतिमा सहमति पाएपछि उनको सरकारमा बसाइँबारे मन्त्रिपरिषद् भित्र र बाहिर प्रश्न उठ्न थालेको थियो।
स्रोतका अनुसार, चुनावका लागि बनेको गैरदलिय सरकारमा राजनीतिक दलको नेतृत्व तहमा रहेका व्यक्तिहरू रहनु उपयुक्त नहुने भएकाले अन्य मन्त्रीहरूले पनि प्रधानमन्त्रीलाई कुलमानलाई हटाउन सुझाव दिएका थिए। यसकारण प्रधानमन्त्री कार्कीले उनलाई सरकार छोड्न आदेश दिएकी हुन्। मन्त्री पदबाट कुलमानले राजिनामा नदिए पदबाट हटाउने प्रधानमन्त्री कार्कीकाे तयारी रहेकाे स्रोतले जनाएको छ।
प्रकाशित मिति: २२ पुस २०८२, मंगलबार













प्रतिक्रिया