काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सरकारका तीन जना मन्त्रीलाई राजीनामा दिन आग्रह गरेकी छन्। राजनीतिक गतिविधिमा सक्रिय देखिएको भन्दै प्रधानमन्त्रीले ऊर्जामन्त्री कुलमान घिसिङ, युवाका तथा खेलकुदमन्त्री बब्लु गुप्ता र सञ्चारमन्त्री जगदीश खरेललाई पदबाट अलग हुन सुझाव दिएको एक मन्त्रीले जानकारी दिएका छन्।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री कार्कीले नागरिक सरकारका मन्त्रीहरू राजनीतिक गतिविधिबाट टाढा रहनुपर्ने स्पष्ट सन्देश दिँदै, सक्रिय राजनीतिक संलग्नता देखिएकाले उनीहरूको भूमिकामाथि प्रश्न उठाएकी थिइन्। उनका अनुसार, राजनीतिक गतिविधिमा संलग्न नहुने व्यक्तिमात्रै सरकारमा रहन उपयुक्त हुने ठहर गरिएको थियो।
विशेषगरी ऊर्जामन्त्री घिसिङको पछिल्लो राजनीतिक सक्रियताप्रति प्रधानमन्त्री बढी गम्भीर बनेको बताइएको छ। हालै घिसिङले आफू संरक्षक रहेको उज्यालो नेपाल पार्टीलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा समायोजन गराएका थिए। त्यसपछि रास्वपाले उनलाई उपाध्यक्ष बनाएको छ।
यस्तै, खेलकुदमन्त्री बब्लु गुप्ता पनि रास्वपाका गतिविधिमा संलग्न देखिँदै आएका छन् भने सञ्चारमन्त्री खरेलले पनि आफ्ना व्यक्तिगत स्वार्थअनुसार राजनीतिक गतिविधि गरिरहेको प्रधानमन्त्रीको बुझाइ रहेको स्रोतले जनाएको छ।
भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनपछि सुशीला कार्कीको नेतृत्वमा नागरिक सरकार गठन भएको थियो। उक्त सरकारलाई दलगत राजनीतिबाट टाढा राख्ने उद्देश्यका साथ बनाइएकाले मन्त्रीहरूको राजनीतिक सक्रियतामाथि प्रधानमन्त्रीले कडाइ गरेको बताइएको छ।
प्रकाशित मिति: २२ पुस २०८२, मंगलबार












प्रतिक्रिया