काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रिया र नेकपा एमालेसँग गरिएको तालमेलप्रति कडा असहमति जनाएका छन्। कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठकमा उनले पार्टीभित्र आवश्यक छलफल नगरी उम्मेदवार टुंग्याइएको भन्दै आपत्ति जनाएका हुन्।
बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै महामन्त्री थापाले उम्मेदवार छनोट प्रक्रियाले पार्टीका वैधानिक संरचनाको अवमूल्यन गरेको बताए। केन्द्रीय कार्यसम्पादन समितिबाट नाम औपचारिक रूपमा पारित हुन बाँकी नै छ, तर उम्मेदवारहरू मनोनयन दर्ता गर्न पुगिसक्नुभएको छ, उनले भने, राष्ट्रिय सभा उम्मेदवार चयन गर्दा केन्द्रीय समिति र संसदीय बोर्डको भूमिकामाथि प्रश्न उठाइएको छ।
थापाले नेकपा एमालेसँग गरिएको तालमेलमा पनि पारदर्शिता नरहेको दाबी गरे। उनका अनुसार कांग्रेस र एमालेका नेतृत्व तहले आफ्ना नजिकका व्यक्तिलाई समेट्न क्लस्टरको नाममा भागबन्डा गरेका छन्। क्लस्टर निर्धारण गरेर पहिल्यै नाम मिलाइएको छ,उनले भने।
उनले कांग्रेसतर्फबाट राष्ट्रिय सभाका लागि तय गरिएका ९ उम्मेदवारमध्ये ३ जना पार्टीका कुनै पनि तहबाट सिफारिस नपरेका व्यक्ति रहेको उल्लेख गरे। साथै उम्मेदवार छनोटमा जनजाति र मुस्लिम समुदायबाट एक जना पनि नसमेटिएकोप्रति उनले गम्भीर आपत्ति जनाए।
व्यक्तिगत सम्बन्धका आधारमा नेताहरूले खल्तीबाट मान्छे छाने, थापाले भने, यस प्रक्रियाप्रति मैले औपचारिक रूपमा फरक मत दर्ज गराएको छु। पार्टीभित्र प्रक्रिया र विधानलाई निरन्तर मिच्दै जाँदा आजको अवस्था आएको हो।
महामन्त्री थापाले आफू र अर्का महामन्त्री विश्वप्रकाश शर्माको भूमिकालाई जानाजानी कमजोर बनाइएको दाबी पनि गरे। हामीलाई कर्नर गर्ने प्रयास भइरहेको छ। घेराबन्दी गरिएको छ, उनले भने, तर मैले बैठकमै भनेको छु—यहाँको घेरा सानो छ, समर्थक र शुभेच्छुकको घेरा ठूलो छ। संख्याको बलमा गरिने घेराबन्दीले मलाई व्यक्तिगत रूपमा असर गर्दैन।
उनले एमालेसँगको तालमेलको साटो नेपाली कम्युनिस्ट पार्टीसँग सहकार्य गरिएको भए १५ सिटसम्म जित्न सकिने सम्भावना रहेको टिप्पणी गरे। हिजो बैठकमा संविधान र देश ठूलो हो, सिट ठूलो होइन भनियो,उनले भने, तर आज एक सिटमा कुरा नमिल्दा सिटलाई संविधानभन्दा माथि राखिएको देखियो।
राष्ट्रिय सभा निर्वाचनका लागि आज सातै प्रदेशमा १८ जना सदस्य चयनका लागि उम्मेदवारी दर्ता हुँदैछ। यसका लागि नेपाली कांग्रेस, नेकपा एमाले र जनता समाजवादी पार्टी नेपालबीच क्रमशः ९, ८ र १ सिट बाँडफाँड गर्ने सहमति भएको छ।
प्रकाशित मिति: २३ पुस २०८२, बुधबार













प्रतिक्रिया