काठमाडौं। माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि १८ सिटमा ४४ जनाले उम्मेदवारी दिएका छन्। उम्मेदवारी दर्ता प्रक्रिया बुधबार प्रदेश निर्वाचन कार्यालयमा सम्पन्न भएको हो।

कोसी प्रदेशतर्फको अन्य क्लस्टरमा नेपाली कांग्रेसका सुनिल थापा निर्विरोध निर्वाचित भएका छन्। नेपाली कम्युनिस्ट पार्टीले उम्मेदवार बनाएका हेमराज घिमिरे अनुपस्थित भएपछि थापा निर्विरोध भएका हुन्। राष्ट्रियसभामा नेपाली कांग्रेस, नेकपा (एमाले) र मधेस केन्द्रित दल लोकतान्त्रिक समाजवादी पार्टीबीच गठबन्धन बनेको छ। यसअनुसार कांग्रेसले ९, एमालेले ८ र लोसपाले १ सिटमा उम्मेदवारी दर्ता गराएको छ।

advertisement

तर, भागबण्डा नमिल्दा तालमेलको निर्णयबाट पछि हटेर नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले छुट्टै उम्मेदवारी दर्ता गराएको छ। जनता समाजवादी पार्टी (जसपा) नेपालसँग लोसपाको एकताको समझदारी भइसकेको छ। सुरुमा जसपा नेपाल गठबन्धनमा रहने भनिए पनि मधेस प्रदेशमा उनीहरूले आफ्ना छुट्टै तीन उम्मेदवार उठाएका छन्। महन्थ ठाकुरलाई भने जसपा नेपालले सहयोग गर्ने निर्णय गरेको छ।

गठबन्धनको मुख्य प्रतिष्पर्धी नेकपा रहेको छ। तर गठबन्धनको मतभार बढी देखिन्छ र १८ सिटमा गठबन्धनका उम्मेदवारले जीत हासिल गर्ने निश्चित जस्तो देखिन्छ। राष्ट्रियसभाका मतदाता प्रदेशसभा सदस्य, स्थानीय तहका प्रमुख/उपप्रमुख तथा अध्यक्ष/उपाध्यक्ष हुन्। प्रदेश सांसदको मतभार ५३ र स्थानीय तहका प्रतिनिधिको मतभार १९ कायम छ।

मतभारको आधारमा प्रदेश अनुसार दलहरूको अवस्था यस प्रकार छ:

कोसी प्रदेश:
कोसी प्रदेशमा ३६७ मतदाता छन् र कुल मतभार १०,१३५ छ। प्रदेशसभामा एमाले ४०, कांग्रेस २९, नेकपा १७, राप्रपा ६ र जसपा नेपाल १ सदस्य छन्। स्थानीय तहमा एमाले ११०, कांग्रेस ११५, नेकपा ३८, जसपा नेपाल ४, राप्रपा ४ र स्वतन्त्र ३ मतदाता छन्। एमालेको मतभार ४,२१०, कांग्रेसको ३,७२२ र नेपाली कम्युनिस्ट पार्टीको २,१२७ छ। गठबन्धन नेकपाभन्दा ५,२११ मतभारले अघि देखिन्छ।

मधेस प्रदेश:
मतदाता ३७१ र कुल मतभार १०,५८५ छ। प्रदेशसभामा एमाले २५, कांग्रेस २२, जसपा नेपाल १९, नेकपा १६, जनमत १३, लोसपा ९ सांसद छन्। स्थानीय तहमा कांग्रेस १०२, एमाले ५७, जसपा नेपाल ५१, नेकपा २९, लोसपा २४ मतदाता छन्। गठबन्धनसँग कुल ६,३३९ मतभार छ, नेकपासँग १,३९९ मतभार। गठबन्धन नेकपाभन्दा ४,९४० मतभारले अघि छ।

वाग्मती प्रदेश:
मतदाता ३४७, कुल मतभार १०,३३३। प्रदेशसभामा कांग्रेस ३७, नेकपा २८, एमाले २७, राप्रपा १३, नेमकिपा ३, हाम्रो नेपाली पार्टी २ सदस्य छन्। स्थानीय तहमा कांग्रेस १०८, नेकपा ६६, एमाले ६० मतदाता छन्। गठबन्धनको कुल मतभार ६,५८४, नेकपा २,७३८।

गण्डकी प्रदेश:
मतदाता २२९, कुल मतभार ६,३५७। प्रदेशसभामा कांग्रेस २७, एमाले २२, नेकपा ७, राप्रपा २, नेसपा १ सदस्य छन्। स्थानीय तहमा कांग्रेस ६७, एमाले ७०, नेकपा ३० मतदाता छन्। गठबन्धनको मतभार ५,२००, नेकपा ९४१। गठबन्धन नेकपाभन्दा ४,२५९ मतभारले अघि छ।

लुम्बिनी प्रदेश:
मतदाता ३०४, कुल मतभार ८,७३४। प्रदेशसभामा एमाले २९, कांग्रेस २७, नेकपा १२, राप्रपा ४, नागरिक उन्मुक्ति पार्टी ४, जनमत ३, लोसपा ३, जसपा २, जसपा नेपाल १, राष्ट्रिय जनमोर्चा र स्वतन्त्र १–१ सदस्य। स्थानीय तहमा कांग्रेस ९२, एमाले ६७, नेकपा ४० मतदाता। गठबन्धनको कुल मतभार ६,६६९, नेकपा १,६०८। गठबन्धन नेकपाभन्दा ५,०६१ मतभारले अघि।

कर्णाली प्रदेश:
मतदाता १९८, कुल मतभार ५,१२२। प्रदेशसभामा कांग्रेस १४, नेकपा १४, एमाले १०, राप्रपा १, स्वतन्त्र १। स्थानीय तहमा कांग्रेस ५९, नेकपा ५८, एमाले ३५ मतदाता। गठबन्धनको मतभार ३,०५८, नेकपा १,८४४। गठबन्धन नेकपाभन्दा ४,९०२ मतभारले अघि।

सुदूरपश्चिम प्रदेश:
मतदाता २२७, कुल मतभार ५,०८१। प्रदेशसभामा कांग्रेस १, एमाले ११, नेकपा १५। निलम्बनमा परेकाले नेकपाका १४ सांसद मतदाता। स्थानीय तहमा कांग्रेस ८६, एमाले ५०, नेकपा ३०, नाउपा ७, स्वतन्त्र ३ मतदाता। गठबन्धनको कुल मतभार ४,१२१, नेकपा १,८१६। गठबन्धन नेकपाभन्दा २,३०५ मतभारले अघि छ।

प्रकाशित मिति: २४ पुस २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com