एजेन्सी । अमेरिकाले भेनेजुएलाको कच्चा तेल ढुवानी गरिरहेका दुई वटा जहाजलाई नियन्त्रणमा लिएको छ । उत्तर एट्लान्टिक र क्यारिबियन सागर क्षेत्रमा गरिएको छुट्टाछुट्टै कारबाहीका क्रममा ती जहाज अमेरिकी सेनाले जफत गरेको हो ।

करिब दुई सातासम्मको निगरानी र प्रयासपछि रुसको झन्डा फहराइरहेको ‘मरिनेरा’ नामक जहाजमा अमेरिकी सेना प्रवेश गर्न सफल भएको जनाइएको छ । कारबाहीको समयमा उक्त जहाज आइसल्यान्ड र स्कटल्यान्डको बीच समुद्री क्षेत्रमा रहेको थियो । यस अभियानमा बेलायतको शाही जलसेनाले अमेरिकी सेनालाई लजिस्टिक सहयोग प्रदान गरेको बताइएको छ ।

advertisement

अमेरिकाले नियन्त्रणमा लिएको अर्को जहाज ‘एमआरटी सोफिया’ हो । यस जहाज गैरकानुनी गतिविधिमा संलग्न रहेको आरोप अमेरिकाले लगाएको छ । भेनेजुएलाको कच्चा तेलको निर्यात पूर्ण रूपमा रोक्ने अमेरिकी रणनीतिअन्तर्गत यी कदम चालिएको बताइएको छ ।

अमेरिकी सेनाले केही दिनअघि कारकासमा आक्रमण गरी राष्ट्रपति निकोलस मादुरो र उनकी पत्नीलाई पक्राउ गरेर अमेरिका लगेको घटनापछि यी जहाजहरू जफत गरिएको हो । अवैध रूपमा निर्यात हुने भेनेजुएली तेलमाथिको प्रतिबन्ध विश्वका जुनसुकै स्थानमा पनि लागू हुने अमेरिकी रक्षा मन्त्री पिट हेगेस्थले सामाजिक सञ्जाल एक्समार्फत स्पष्ट पारेका छन् ।

यस घटनाप्रति रुसले कडा आपत्ति जनाएको छ । आफ्नो झन्डा फहराइरहेको जहाज जफत गर्नु अन्तर्राष्ट्रिय नियमविपरीत भएको भन्दै रुसले त्यसको निन्दा गरेको छ । साथै, सीमापार कारबाही नगरी अमेरिकाले रुससँग कूटनीतिक र मर्यादित व्यवहार गर्नुपर्ने माग गर्दै जहाजलाई छिट्टै रुस फर्काउन अनुमति दिन आग्रह गरेको छ ।

यसअघि अमेरिकी सेनाले रुसी झन्डा भएको जहाजको पछ्याइ गरेपछि रुसले सो जहाजको सुरक्षाका लागि आफ्नो नौसेनाको युद्धपोतसमेत परिचालन गरेको थियो ।

प्रकाशित मिति: २४ पुस २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com