युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताविरुद्ध अख्तियारमा उजुरी

मन्त्री गुप्ताले आफ्नो पद र हैसियतको दुरुपयोग गर्दै सामूहिक रूपमा अमेरिका जान खोजिएको उल्लेख गर्दै यस घटनालाई संगठित मानव तस्करीसँग जोडेर गहिरो अनुसन्धान गर्न माग गरेका छन् ।



काठमाडौं । युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताको अमेरिका भ्रमणलाई लिएर छानबिन र कारबाहीको माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता गरिएको छ ।

मुलुक बचाउने नागरिक (ममुबना) अभियानका प्रमुख युवराज सफलले फर्जी आयोजक र जाली निमन्त्रणापत्रका आधारमा मन्त्रिपरिषद्बाट अमेरिका भ्रमण स्वीकृत गराइएको आरोप लगाउँदै अख्तियारमा उजुरी दिएका हुन् । उजुरीमा आगामी माघ ३ गते अमेरिकामा आयोजना हुने भनिएको ‘रोल अफ एनआरएनए युथ इन द डेभलपमेन्ट अफ नेपाल : पोस्ट जेन–जी रिभोल्युसन’ शीर्षकको कार्यक्रम न त नेपाल सरकार, न अमेरिकी सरकार, न त नेपाली दूतावासको आधिकारिक अभिलेखमा रहेको दाबी गरिएको छ ।

advertisement

उजुरीकर्ताले मन्त्री गुप्ताले आफ्नो पद र हैसियतको दुरुपयोग गर्दै सामूहिक रूपमा अमेरिका जान खोजिएको उल्लेख गर्दै यस घटनालाई संगठित मानव तस्करीसँग जोडेर गहिरो अनुसन्धान गर्न माग गरेका छन् । साथै, अमेरिका भ्रमण स्वीकृतिसम्बन्धी मन्त्रिपरिषद्को निर्णय, निमन्त्रणापत्रको प्रामाणिकता, आयोजक संस्थाको कानुनी वैधता तथा भ्रमणमा सहभागी हुने टोलीको सम्पूर्ण विवरण झिकाएर छानबिन गर्नुपर्ने माग पनि उजुरीमा गरिएको छ ।

अख्तियारमा दर्ता उजुरीमा दोषी प्रमाणित भएमा मन्त्री गुप्ताविरुद्ध मानव तस्करीसमेतको अभियोगमा कानुनी कारबाही गर्न र अनुसन्धान अवधिभर उनलाई मन्त्री पदबाट निलम्बन गर्न माग गरिएको छ ।

प्रकाशित मिति: २४ पुस २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com