एजेन्सी । बङ्गलादेश नेसनलिस्ट पार्टी (बीएनपी) का नेता अजिजुर रहमान मुसब्बिरको अज्ञात समूहले गोली हानी हत्या गरेको छ। सोही घटनामा कारवान बजार भ्यान एसोसिएसनका महासचिव अबु सुफियान मसूद घाइते भएका छन्।
स्थानीय सञ्चारमाध्यमका अनुसार मुसब्बिर बीएनपीको स्वयंसेवक संगठन ढाका सिटी नर्थ स्वेच्छासेबक दलका पूर्व महासचिव हुन्। बुधबार राति करिब ८ः४० बजे राजधानी ढाकाको बसुन्धरा मार्केट पछाडिको बजार क्षेत्रमा मोटरसाइकलमा आएका आक्रमणकारीहरूले उनीहरूलाई लक्षित गरी गोली प्रहार गरेका थिए।
तेजगाँव डिभिजनका अतिरिक्त प्रहरी उपायुक्त (एडीसी) फजलुल करिमले घटनामा मुसब्बिरको मृत्यु भएको पुष्टि गरेका छन्। उनका अनुसार स्टार कबाब नजिकैको गल्लीमा भएको गोलीकाण्डमा मुसब्बिर गम्भीर घाइते भएका थिए र उपचारका लागि बीआरबी अस्पताल लैजाँदै गर्दा उनको मृत्यु भएको हो। घाइते मसूदको ढाका मेडिकल कलेज अस्पतालमा उपचार भइरहेको छ।
द डेली स्टारका अनुसार मुसब्बिर शरियतपुरका बासिन्दासँग आयोजित एक कार्यक्रममा सहभागी भएर फर्किंदै गर्दा आक्रमणमा परेका थिए। घटनापछि स्थानीय बीएनपी कार्यकर्ताहरूले सोना गाउँ चौराहा नजिक विरोध प्रदर्शनसमेत गरेका छन्।
फेब्रुअरी १२ मा तय राष्ट्रिय चुनाव नजिकिँदै गर्दा देशभर राजनीतिक हिंसाका घटनाहरू बढिरहेका बेला यस घटनाले बङ्गलादेशको सुरक्षा अवस्था र कानून व्यवस्थाप्रति थप चिन्ता बढाएको छ।
प्रकाशित मिति: २४ पुस २०८२, बिहिबार












प्रतिक्रिया