काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले उज्यालो नेपाल पार्टी (उनेपा) सँग भएको सहमति अब कार्यान्वयनको प्रक्रियामा अघि बढ्ने बताएका छन्। बिहीबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले कुलमान घिसिङले मन्त्री पदबाट राजीनामा दिएपछि सहमति औपचारिक रूपमा अघि बढाउन सहज भएको बताए।
रास्वपा र उनेपाबीच यसअघि पार्टी एकतासम्बन्धी सहमति भइसकेको छ। सो सहमतिअनुसार दुवै पार्टीले निर्वाचन आयोगमा समानुपातिकतर्फ एकीकृत सूचीसमेत बुझाइसकेका छन्। तर सहमति भए पनि हालसम्म त्यसको औपचारिक कार्यान्वयन भने अघि बढ्न सकेको थिएन।
यसबीच उनेपाका अध्यक्ष कुलमान घिसिङ न त रास्वपाको केन्द्रीय समिति बैठकमा सहभागी भएका थिए, न उनले पार्टी सदस्यताको शपथ नै लिएका थिए। साथै उनेपाले रास्वपाको केन्द्रीय कमिटीका लागि नामावलीसमेत औपचारिक रूपमा नपठाएको अवस्था थियो।
बुधबार मन्त्री पदबाट राजीनामा दिने क्रममा घिसिङले रास्वपासँग भएको सहमति अझै औपचारिक रूपमा कार्यान्वयनमा नआएको बताएका थिए। सोही सन्दर्भमा सभापति लामिछानेले भने, “हामीबीच सहमति भएको छ। तर सहमतिको औपचारिक प्रक्रिया पार्टीले नै पूरा गर्नुपर्छ। अब उहाँले राजीनामा दिनुभएको छ, त्यसैले सहमतिलाई औपचारिकता दिने काम अब सुरु हुन्छ।”
घिसिङले पनि बुधबार राति ऊर्जा मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा रास्वपासँग भएको सहमति अझै कार्यान्वयनको चरणमा नपुगेको स्पष्ट पारेका थिए। “उज्यालो नेपाल पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीबीच भएको सहमतिमा मेरो नाम उल्लेख भए पनि उक्त सहमति हालसम्म औपचारिक रूपमा कार्यान्वयनमा आएको छैन,” उनले भनेका थिए।
रास्वपा र उनेपाबीचको सहमति अब औपचारिक रूपमा अघि बढ्ने संकेतसँगै आगामी दिनमा पार्टी संरचना र निर्णय प्रक्रियामा यसको प्रभाव देखिने अपेक्षा गरिएको छ।
प्रकाशित मिति: २४ पुस २०८२, बिहिबार













प्रतिक्रिया