काठमाडौं/एजेन्सी । भारतको उत्तरप्रदेशस्थित हापुर जिल्लामा कार्यरत एक महिला सब–इन्स्पेक्टरले आफ्नै श्रीमान् र ससुराली पक्षविरुद्ध दाइजो उत्पीडन, कुटपिट र ज्यान मार्ने धम्की दिएको आरोपमा मुद्दा दर्ता गराएकी छन्।

बरेली जनपदमा कार्यरत सब–इन्स्पेक्टर पायल रानीले गत नोभेम्बर १३ मा हापुर प्रहरी उपरीक्षक (एसपी) समक्ष उजुरी दिएकी थिइन्। सोही उजुरीका आधारमा हापुरको नगर कोतवालीमा पति गुलशनसहित ससुराली पक्षका ६ जनाविरुद्ध मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ। घटना हापुरको गणेशपुरा मोहल्लासँग सम्बन्धित रहेको बताइएको छ।

advertisement

उजुरीअनुसार पायल रानीको विवाह सन् २०२२ डिसेम्बर २ मा पिलखुवा कोतवाली क्षेत्रअन्तर्गत पर्ने पुठा हुसैनपुर गाउँका गुलशनसँग भएको थियो। उनले विवाहका क्रममा माइती पक्षले पर्याप्त दाइजो दिएको भए पनि ससुराली पक्ष सन्तुष्ट नभएको आरोप लगाएकी छन्।

उनको दाबीअनुसार विवाहपछि पति, सासू–ससुरा तथा अन्य आफन्तहरूले थप दाइजो माग गर्दै १० लाख भारतीय रुपैयाँ नगद र एउटा कारको माग गरेका थिए। माग पूरा नभएपछि मानसिक तथा शारीरिक यातना दिइएको, कुटपिट गरिएको र तेजाब फ्याँकेर ज्यान मार्ने धम्कीसमेत दिइएको उजुरीमा उल्लेख छ।

हापुर एसपीको निर्देशनमा सदर कोतवाली प्रहरीले दाइजो उत्पीडन, कुटपिट, धम्की र सम्बन्धित धाराअन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान सुरु गरेको छ।

यता, पति गुलशनले भने आफूहरूमाथि लगाइएको आरोप असत्य भएको दाबी गरेका छन्। उनका अनुसार उनीहरू सन् २०१६ देखि प्रेम सम्बन्धमा थिए र सँगै अध्ययनसमेत गरेका थिए। दुवैले सन् २०२१ मा कोर्ट म्यारिज गरेको र त्यसपछि परिवारलाई सहमत गराई सन् २०२२ मा दाइजोबिना नै हिन्दु रीतिरिवाजअनुसार विवाह सम्पन्न गरिएको उनले बताए।

गुलशनले आफूले नै पत्नीको अध्ययनमा सहयोग गरी सब–इन्स्पेक्टर बन्ने मार्ग प्रशस्त गरेको दाबी गर्दै अहिले झुटा आरोप लगाएर आफू र परिवारलाई फसाउन खोजिएको आरोप लगाएका छन्।

हापुरका प्रहरी उपरीक्षक ज्ञानञ्जय सिंहले पायल रानीको उजुरीका आधारमा मुद्दा दर्ता भइसकेको र घटनाको गहिरो अनुसन्धान भइरहेको जानकारी दिएका छन्। उनका अनुसार दुवै पक्षका बयान लिइँदै छ र आवश्यक प्रमाणहरू संकलन गर्ने काम जारी छ।

प्रकाशित मिति: २४ पुस २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com