एजेन्सी । भारतको उत्तरप्रदेशस्थित हापुरमा एक महिला सब–इन्स्पेक्टरले आफ्नै श्रीमान् र ससुराली परिवारविरुद्ध दाइजो उत्पीडनको आरोपमा मुद्दा दर्ता गराएकी छन्। घटनाले स्थानीयस्तरमा चासो र बहस सिर्जना गरेको छ।

बरेली जनपदमा कार्यरत सब–इन्स्पेक्टर पायल रानीले हापुरका गणेशपुरा मोहल्लामा रहेका आफ्ना पति गुलशन तथा उनका परिवारका सदस्यहरूविरुद्ध उजुरी दिएकी हुन्। उनले सन् २०२५ नोभेम्बर १३ मा हापुर प्रहरी उपरीक्षक (एसपी) समक्ष उजुरी दर्ता गराएकी थिइन्, जसको आधारमा सदर कोतवालीमा मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ।

advertisement

पायल रानीका अनुसार उनको विवाह सन् २०२२ डिसेम्बर २ मा पिलखुवा कोतवाली क्षेत्रअन्तर्गत पर्ने पुठा हुसैनपुर गाउँका गुलशनसँग भएको थियो। विवाहका बेला माइती पक्षबाट पर्याप्त दाइजो दिइए पनि ससुराली पक्ष सन्तुष्ट नभएको र विवाहपश्चात् थप दाइजोको माग सुरु भएको उनले आरोप लगाएकी छन्।

उजुरीमा उनले पति, सासू–ससुरा र अन्य आफन्तले १० लाख भारतीय रुपैयाँ नगद र एउटा कार माग गरेको उल्लेख गरेकी छन्। माग पूरा नभएपछि आफूलाई मानसिक तथा शारीरिक रूपमा यातना दिइएको, कुटपिट गरिएको र तेजाब फ्याँकेर ज्यान मार्ने धम्कीसमेत दिइएको उनको दाबी छ।

हापुर एसपीको निर्देशनमा सदर कोतवाली प्रहरीले पति गुलशनसहित ससुराली पक्षका ६ जनाविरुद्ध दाइजो उत्पीडन, कुटपिट र धम्कीसम्बन्धी मुद्दा दर्ता गरेको छ।

यता, पति गुलशनले भने आफू र पायल सन् २०१६ देखि प्रेम सम्बन्धमा रहेको र सँगै अध्ययन गरेको दाबी गरेका छन्। उनका अनुसार दुवैले सन् २०२१ मा कोर्ट म्यारिज गरेका थिए र पछि परिवारलाई समझाइ सन् २०२२ मा दाइजोबिना हिन्दु परम्पराअनुसार विवाह गरिएको थियो।

गुलशनले पत्नीलाई पढाइमा सहयोग गरी सब–इन्स्पेक्टर बनाउन आफूले भूमिका खेलेको दाबी गर्दै आफूमाथि तथा परिवारमाथि झुटा आरोप लगाएर मुद्दा दर्ता गराइएको बताएका छन्।

हापुरका एसपी ज्ञानञ्जय सिंहले उजुरीका आधारमा मुद्दा दर्ता भइसकेको र घटनाको गहिरो अनुसन्धान भइरहेको जानकारी दिएका छन्। उनका अनुसार दुवै पक्षका बयान लिइँदैछ र आवश्यक प्रमाण संकलनको काम भइरहेको छ।

प्रकाशित मिति: २४ पुस २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com