काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले वर्तमान सरकारमा सहभागी मन्त्रीहरूलाई कुनै पनि राजनीतिक दलप्रति झुकाव देखाउने अधिकार नभएको स्पष्ट पारेका छन्। शुक्रबार ललितपुरमा आयोजित बागमती प्रदेशस्तरीय सुरक्षा गोष्ठीको उद्घाटन सत्रमा बोल्दै उनले यस्तो बताएका हुन्।

गृह मन्त्रालय र बागमती प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयको संयुक्त आयोजनामा भइरहेको उक्त गोष्ठीमा बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ, प्रदेश सरकारका मन्त्रीहरू तथा सुरक्षा निकायका उच्च अधिकारीहरूको उपस्थिति रहेको छ।

advertisement

कार्यक्रममा मन्तव्य राख्दै गृहमन्त्री अर्यालले वर्तमान सरकार दुई प्रमुख म्यान्डेटसहित गठन भएको बताए। उनका अनुसार सरकारको पहिलो म्यान्डेट तोकिएको मितिमै निर्वाचन सम्पन्न गर्नु हो भने दोस्रो म्यान्डेट जेन–जी जनआन्दोलनबाट प्राप्त सुशासन स्थापना गर्ने प्रतिबद्धता हो।

निर्वाचनसम्बन्धी पहिलो म्यान्डेटबारे उनले सरकारले निर्वाचन प्रक्रियामा प्रवेश गरिसकेको उल्लेख गर्दै तोकिएकै मितिमा निर्वाचन हुनेमा कुनै शंका नगर्न सबै सम्बन्धित पक्षलाई आग्रह गरे। निर्धारित समयमा निर्वाचन सम्पन्न नभए देश गम्भीर संकटतर्फ जान सक्ने चेतावनी पनि उनले दिए।

त्यस्तै, दोस्रो म्यान्डेटबारे बोल्दै गृहमन्त्री अर्यालले जेन–जी जनआन्दोलन सुशासनको मागका लागि भएको बताउँदै सरकार सुशासन कायम गर्न पूर्ण रूपमा कटिबद्ध रहेको दाबी गरे। उनले सरकारका प्रयासप्रति सकारात्मक सहयोग र हौसला प्रदान गरी सरकारी मनोबल बढाइदिन सबै पक्षसँग अनुरोध गरे।

कार्यक्रमका विशिष्ट अतिथि बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले मन्त्रीहरूका गतिविधिले निर्वाचनको वातावरणमा नकारात्मक असर पर्न सक्ने भन्दै विशेष सतर्कता अपनाउन आग्रह गरे। उनले स्वच्छ, निष्पक्ष र भयरहित निर्वाचन सम्पन्न गर्न सुरक्षा निकायलाई आवश्यक साधन, स्रोत र अधिकार उपलब्ध गराउनुपर्नेमा जोड दिए।

मुख्यमन्त्री बानियाँले यसपटकको निर्वाचनमा विगतझैँ भय र त्रासको वातावरण नभए पनि अविश्वासको अवस्था भने कायमै रहेको बताए। साथै, कृत्रिम बौद्धिकता (एआई), इन्टरनेट र सामाजिक सञ्जालमार्फत फैलिन सक्ने भ्रामक सूचना र त्यसको निर्वाचनमा पर्ने प्रभावबारे गम्भीर रहन गृह मन्त्रालय तथा सुरक्षा निकायलाई सचेत गराए।

प्रकाशित मिति: २५ पुस २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com