काठमाडौं । जेनजी अगुवा सुदन गुरुङले गोरखा क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिने घोषणा गरेका छन्। उनले शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत आगामी निर्वाचनमा सहभागी हुने औपचारिक जानकारी दिएका हुन्।
फेसबुकमा सार्वजनिक सन्देशमार्फत गुरुङले गोरखा–१ बाट प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिने स्पष्ट पारेका छन्। गोरखा आफ्नो गृह जिल्ला रहेको उल्लेख गर्दै उनले आफ्नै गाउँ र माटोबाट परिवर्तनको सुरुआत गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
‘आफ्नै गाउँ, आफ्नै माटोबाट परिवर्तनको सुरुवात—नयाँ शक्ति, नयाँ अनुहार, नयाँ नेपाल,’ भन्दै गुरुङले आगामी निर्वाचनमार्फत नयाँ राजनीतिक विकल्प प्रस्तुत गर्ने संकेत गरेका छन्।
पछिल्लो समय उनी राष्ट्रिय स्वतन्त्र पार्टीप्रति झुकाव देखाउँदै आए पनि हालसम्म औपचारिक रूपमा कुनै पार्टी आबद्धता भने सार्वजनिक गरेका छैनन्। प्रतिनिधिसभा निर्वाचन आगामी फागुन २१ गते हुने तय भएको छ।
प्रकाशित मिति: २५ पुस २०८२, शुक्रबार













प्रतिक्रिया