काठमाडौं । आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई भयरहित, शान्तिपूर्ण र सुरक्षित रूपमा सम्पन्न गर्न सुरक्षा निकायहरू पूर्ण रूपमा तयारी अवस्थामा रहेको बताएका छन्।
शुक्रबार सिंहदरबारमा बसेको राष्ट्रिय सभाअन्तर्गत सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा सुरक्षा निकायका प्रतिनिधिहरूले निर्वाचन लक्षित एकीकृत सुरक्षा योजना स्वीकृत भइसकेको र सोही योजनाअनुसार आपसी समन्वय र सहकार्यमा काम भइरहेको जानकारी गराएका हुन्।

नेपाली सेनाका सहायक रथी मनोज थापाले तोकिएको मितिमा निर्वाचन सम्पन्न गर्नु मुलुकको अपरिहार्य आवश्यकता भएको उल्लेख गर्दै नेपाली सेना आवश्यक सबै तयारीसहित तयार रहेको बताए। उनले निर्वाचनका क्रममा सम्भावित सुरक्षा जोखिमको विश्लेषण गरी आवश्यक पूर्वतयारी भइरहेको र जोखिममा पर्न सक्ने वर्गलाई लक्षित जनचेतनामूलक कार्यक्रमसमेत सञ्चालन गरिने जानकारी दिए। विगतमा प्रयोग भएका अधिकांश बारुदी सुरुङ तथा विस्फोटक पदार्थ नष्ट भइसकेको र कतै फेला परेमा तत्काल बम डिस्पोजल टोली परिचालन गरिने उनले बताए।

advertisement

नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) उमाप्रसाद चतुर्वेदीले विस्फोटक पदार्थ भेटिनु मात्र होइन, नयाँ बम बनाउने मानसिकता नै अझ खतरनाक रहेको टिप्पणी गरे। पेट्रोल बम तथा रासायनिक पदार्थ प्रयोग गरी आन्दोलनलाई हिंसात्मक बनाउने प्रवृत्ति राष्ट्रिय सुरक्षाका लागि गम्भीर चुनौती भएको उनको भनाइ थियो।
निर्वाचनलाई लक्षित गर्दै जिल्ला सुरक्षा समितिमार्फत लामो तथा छोटो दूरीका गस्तीहरू निरन्तर सञ्चालन भइरहेको र आपराधिक गतिविधि नियन्त्रण तथा फरार कैदीबन्दी खोजीका लागि छुट्टै समिति गठन गरी काम भइरहेको जानकारीसमेत उनले दिए।

सशस्त्र प्रहरी बल नेपालका अतिरिक्त महानिरीक्षक गणेश ठाडा मगरले तीनवटै सुरक्षा निकाय एकीकृत सुरक्षा योजनाको कार्यान्वयनमा सक्रिय रहेको बताए। निर्वाचन सुरक्षालाई थप प्रभावकारी बनाउन नेपाल प्रहरीले एक लाख ३४ हजार र सशस्त्र प्रहरीले १५ हजार थप निर्वाचन सुरक्षाकर्मी परिचालन गर्ने प्रक्रिया सुरु गरिसकेको जानकारी पनि उनले दिए।

सुरक्षा निकायहरूले आपसी समन्वय, अतिरिक्त जनशक्ति र लक्षित सुरक्षा रणनीतिमार्फत निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र विश्वसनीय रूपमा सम्पन्न गराउने प्रतिबद्धता व्यक्त गरेका छन्।

प्रकाशित मिति: २५ पुस २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com