काठमाडौं । उज्यालो नेपाल पार्टी (उनेपा) सँगको पार्टी एकता औपचारिक रूपमा टुंगिएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक उम्मेदवारहरूको बन्दसूची अद्यावधिक गरेको छ। आइतबार बिहान निर्वाचन आयोग पुगेर बन्दसूची संशोधन गरिएको रास्वपाका प्रवक्ता मनिष झाले जानकारी दिए।
झाका अनुसार उनेपाको तर्फबाट बन्दसूचीमा समावेश गरिएका १४ जनाको विषयमा निर्वाचन आयोगका पदाधिकारीसँग छलफल भइरहेको छ। ‘समानुपातिक बन्दसूची अद्यावधिक भएको जानकारी आएको छ। कुलमान घिसिङ नेतृत्वको पार्टीबाट राखिएका १४ जनाको हकमा आयोगसँग छलफल जारी छ। विस्तृत विवरण आउन बाँकी छ,’ उनले भने।
उनेपासँग पुस १४ गते ७ बुँदे सहमतिमा हस्ताक्षर भएको थियो। तर सहमति कार्यान्वयनका लागि आफूहरूले पर्याप्त लचकता देखाउँदा पनि रास्वपा तयार नभएको उनेपाका नवनियुक्त अध्यक्ष कुलमान घिसिङको आरोप छ। घिसिङको आरोपको खण्डन गर्दै रास्वपाका नेताहरूले भने पार्टीका महत्वपूर्ण पद, केन्द्रीय सदस्य तथा निर्वाचनपछि भावी प्रधानमन्त्रीसमेत माग गरिएकाले सहमति कार्यान्वयन हुन नसकेको दाबी गरेका छन्। यसैबीच, रास्वपाको शनिबार बसेको सचिवालयको आकस्मिक बैठकले उनेपासँगको ७ बुँदे सहमति खारेज गर्ने निर्णय गरेको थियो।
रास्वपाले निर्वाचन आयोगमा बुझाएको समानुपातिक बन्दसूचीमा उनेपाका १४ जना सदस्य समावेश छन्। यसअघि आन्तरिक प्रतिस्पर्धामा उच्च अंक प्राप्त गरेका उम्मेदवारलाई पन्छाएर सेलिब्रेटी तथा व्यापारी पृष्ठभूमिका व्यक्तिलाई अगाडि बढाइएको भन्दै पार्टीभित्र र बाहिर व्यापक आलोचना भएपछि १५ जनाले नाम फिर्ता लिइसकेका छन्।
रास्वपाका महामन्त्री कवीन्द्र बुर्लाकोटीले बन्दसूची अद्यावधिकका लागि दुई विकल्प रहेको बताए। ‘समावेशी क्लस्टर नमिलेका स्थानमा नियमित प्रक्रियाअनुसार अद्यावधिक हुन्छ। उनेपाबाट बन्दसूचीमा परेका व्यक्तिको हकमा भने उनीहरूले स्वयं नाम फिर्ता लिनुपर्छ,’ उनले भने, ‘दि हामी पदभन्दा एकताकै पक्षमा छौँ भन्ने स्पष्ट हुन्छ भने उहाँहरूकै नाम बन्दसूचीमा कायम रहन सक्छ।’
बुर्लाकोटीका अनुसार रिक्त स्थान वा नाम फिर्ता भएको अवस्थामा तलको क्रमबाट माथि सार्ने विकल्प छ। अर्को विकल्पमा, एकता अघि योग्य व्यक्तिलाई अन्यत्र व्यवस्थापन गरी एकताबाट आएका व्यक्तिलाई राखिएको भए, पहिलेकै व्यक्तिलाई सो स्थानमा पुनः ल्याउन सकिने सम्भावना पनि रहेको छ। ‘यस विषयमा हामी निर्वाचन आयोगसँग निरन्तर छलफलमा छौँ,’ उनले बताए।
यसैबीच, प्रत्यक्ष उम्मेदवार छनोटको विषयमा वरिष्ठ नेता बालेन शाहले गृहकार्य गरिरहेको बुर्लाकोटीले जानकारी दिए। प्राइमरी निर्वाचन र बहुआयामिक योग्यताको आधारमा उम्मेदवार चयन गर्नेबारे छलफल भइरहेको उनको भनाइ छ।
प्रकाशित मिति: २७ पुस २०८२, आइतबार












प्रतिक्रिया