काठमाडौं । नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारीले पार्टी नेतृत्वको विलासी जीवनशैली र अत्यधिक सुरक्षा मोहप्रति तीखो व्यङ्ग्य गरेका छन्। आइतबार काठमाडौँको भृकुटीमण्डपमा आयोजित नेपाली कांग्रेसको विशेष महाधिवेशनलाई सम्बोधन गर्दै उनले वर्तमान लोकतान्त्रिक नेताहरूको व्यवहारमाथि गम्भीर प्रश्न उठाएका हुन्।

भण्डारीले पूर्वराजा ज्ञानेन्द्र शाहले सत्ता त्याग्दा देखाएको सरलता र आजका लोकतान्त्रिक नेताहरूको आडम्बरपूर्ण जीवनशैलीबीच तुलना गर्दै कटाक्ष गरे। उनले निरङ्कुश भनिएका राजाले समेत जनताको नासो फिर्ता गरेर सामान्य नागरिकसरह दरबार छाडेको स्मरण गराए।

advertisement

‘राजा ज्ञानेन्द्रले हामीलाई दरबारमा बोलाएर निसानी र श्रीपेच हस्तान्तरण गरे, ‘अब तपाईंहरू राम्ररी बस्नुहोस्’ भन्दै आफैँ गाडी चलाएर मुस्कुराउँदै बाहिरिए,’ भण्डारीले भने, ‘तर आजका नेताहरूलाई जोगाउन हेलिकप्टर चढाउनुपर्छ, कडा सुरक्षा घेरामा राख्नुपर्छ। के यही प्रजातन्त्र हो ?’

नेता भण्डारीले कसैको घर बनाइदिनु वा कसैलाई गाडी चढाउने सुविधा दिनु मात्र प्रजातन्त्र नभएको स्पष्ट पारे। ‘घर बनाइदिनु वा गाडी चढाउनु प्रजातन्त्र होइन,” उनले भने, “प्रजातन्त्रलाई सचेत र सबल बनाउनु आजको मुख्य लक्ष्य हुनुपर्छ।’

३४ वर्षको लोकतान्त्रिक अभ्यासको समीक्षा गर्दै भण्डारीले नेतृत्वले आफ्नै वरिपरि घुम्ने र हजुरिया प्रवृत्तिका व्यक्तिहरूलाई मात्र सत्ता सुम्पँदा देश अघि बढ्न नसकेको आरोप लगाए। ‘आफ्ना मान्छे र चाकडी गर्नेहरूलाई मात्र अवसर दिँदा मुलुक बन्दैन,’ उनले भने, ‘सही र सक्षम व्यक्तिलाई अवसर दिन सके मात्र देश बन्छ, असल मान्छे नभए जति पद बाँडिए पनि मुलुक अघि बढ्दैन।’

प्रकाशित मिति: २७ पुस २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com