काठमाडौं । निर्वाचन आयोगले २१ फागुनमा तोकिएको प्रतिनिधि सभा निर्वाचनका लागि पुस १३ र १४ गते पेस भएको बन्द सूचीमा नाम भएका व्यक्तिहरूले फिर्ता लिन चाहे निवेदन दिन आग्रह गरेको छ ।
आयोगले आइतबार सूचना प्रकाशित गर्दै २८ गते आयोगमा पुगेर फिर्ता लिन आग्रह गरेको छ । ‘बन्द सूचीमा नाम समावेश भएका उम्मेदवारहरूले आफ्नो नाम फिर्ता लिन चाहेमा प्रतिनिधि सभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका, २०८२ को अनुसूची १८ बमोजिमको ढाँचामा निवेदन दिन सकिने छ,’ आयोगको सूचनामा भनिएको छ, ‘कुनै कारणबस सम्बन्धित उम्मेदवार उपस्थित हुन नसक्ने भएमा वारेसमार्फत समेत नाम फिर्ता लिनको लागि निवेदन दिन सकिने ब्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ ।’
बिहान १० देखि दिउँसो ४ बजेसम्म निर्वाचन आयोगको समानुपातिक निर्वाचन अधिकृतको कार्यालयमा निवेदन दिन आयोगले आग्रह गरेको छ ।
दलहरूलाई आजसम्म आयोगले बन्द सूची सच्याउने मिति दिएको थियो । दलहरूले सच्चाएर सूची पेस गरेपछि आयोगले नाम फिर्ता लिनेहरूका लागि सूचना प्रकाशित गरेको हो ।
प्रकाशित मिति: २७ पुस २०८२, आइतबार













प्रतिक्रिया