काठमाडौं । नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माले पार्टीको विशेष महाधिवेशनबाट केवल नीति मात्र पारित हुने दाबी गरेका छन् । सोमबार काठमाडौँमा डा. शेखर कोइराला पक्षधरहरूको भेलापछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्। आइतबारदेखि काठमाडौंको भृकुटीमण्डपमा नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले आह्वान गरेको विशेष महाधिवेशन जारी छ।
तर पार्टीको संस्थापन पक्षसहितका शीर्ष नेताहरू महाधिवेशनमा सहभागी छैनन्। त्यसैबीच डा. कोइराला पक्षधर नेताहरूले छुट्टै भेला गरी पार्टी फुट्न नदिन कोइरालालाई पहल गर्न आग्रह गरेका छन्। शर्माले सञ्चारकर्मीहरूसँगको कुराकानीमा पार्टी नफुटोस् भन्ने सबैको साझा चाहना रहेको बताए।
डा. कोइरालाले आत्मसमर्पण गरेको जस्तो भ्रम फैलाइएको भन्दै पार्टी फुट्न नदिन दुवै पक्षसँग आफू पहल गर्ने कोइरालाले बताएका छन्। शर्मा अनुसार, ‘हाम्रो एजेन्डा नियमित महाधिवेशन हुन नसके विशेष महाधिवेशन गर्नु हो। तर अहिले हाइज्याक भएको छ। पार्टी फुटको संकटमा छ, त्यसलाई रोक्न समाधान निकाल्न सबैलाई आग्रह गरेका छौँ। विशेष महाधिवेशनबाट नीति पारित हुने छ, तर सभापति शेखर कोइराला नियमित महाधिवेशनबाट निर्वाचित हुनेछन्।’
उनले थप भने, ‘पार्टी फुट्न दिइनु हुँदैन। विशेष महाधिवेशनको एजेन्डा हाम्रै हो, तर बीचमा हाइज्याक भएको छ। वैशाख वा असारमा हुने नियमित महाधिवेशनबाट कोइराला सभापति बन्ने निश्चित छ।’
प्रकाशित मिति: २८ पुस २०८२, सोमबार












प्रतिक्रिया