काठमाडौं । नेपाली कांग्रेसभित्र देखिएको आन्तरिक विवाद समाधान गर्न मध्यमार्गी प्रस्ताव अघि सारिएको छ । डा. शेखर कोइरालानिकट रहेका जिल्ला सभापतिहरूले उक्त प्रस्तावमाथि छलफल गरी पार्टीका शीर्ष नेताहरूलाई जानकारी गराएका छन् ।
हिजोदेखि सुरु भएको विशेष महाधिवेशनका कारण पार्टी विभाजन हुन सक्ने आशंका बढेपछि संकट टार्ने उद्देश्यले मध्यमार्गी प्रस्ताव सार्वजनिक गरिएको हो ।

धादिङ जिल्ला सभापति रामनाथ अधिकारीका अनुसार प्रस्तावमा तीन मुख्य विषय समेटिएका छन् ।
उनका अनुसार विशेष महाधिवेशनलाई पार्टीले औपचारिक रूपमा स्वामित्व लिने, सभापति शेरबहादुर देउवाले उम्मेदवारका लागि हस्ताक्षर गर्ने अधिकार कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई प्रदान गर्ने, नियमित महाधिवेशनको सुनिश्चितता गर्ने तथा विशेष महाधिवेशनमा प्रस्तुत भएका दस्तावेजलाई पार्टीको पुँजीका रूपमा स्वीकार गर्ने प्रस्ताव समावेश छन् ।

advertisement

उक्त प्रस्ताव सभापति शेरबहादुर देउवासमक्ष पुर्‍याइसकिएको अधिकारीले जानकारी दिए । शेखर कोइरालानिकट जिल्ला सभापतिहरूले मंगलबार सभापति देउवासँग भेटघाट गर्ने तयारीसमेत गरेका छन् । पार्टीभित्र उत्पन्न संकट समाधानका लागि दुवै पक्षबाट वार्ता समिति गठन गर्ने विषयमा पनि छलफल भइरहेको अधिकारीको भनाइ छ ।
मध्यमार्गी प्रस्ताव अघि बढाउन धादिङका जिल्ला सभापति अधिकारीसहित चितवनका राजेश्वर खनाल, नुवाकोटका रमेश महतलगायत सक्रिय रहेका छन् ।

यता, संस्थापनइतरका नेता डा. शेखर कोइरालाले सोमबार बिहान आफूनिकटका नेता तथा कानुन व्यवसायीसँग परामर्श गरेका थिए । सोही दिन उनले महामन्त्री विश्वप्रकाश शर्मासँग पनि छलफल गरेका छन् ।
विशेष महाधिवेशनको दोस्रो दिन महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्माको प्रतिवेदन पेश भएको छ । बन्दसत्रमा उक्त प्रतिवेदनमाथि मंगलबार पनि प्रतिनिधिहरूले आफ्ना धारणा राख्ने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति: २८ पुस २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com