काठमाडौं । हेटौँडा बजार क्षेत्रको सडक विस्तारसँग सम्बन्धित विवादबारे सर्वोच्च अदालतमा दायर रिट लगातार आठौँ पटक पेसी सूचीमा चढेको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ तथा पूर्व सांसद विन्दवासिनी कंसकारसहित ६ जनाले दायर गरेको रिटमाथि मंगलबार न्यायाधीशद्वय नहकुल सुवेदी र टेकप्रसाद ढुङ्गानाको संयुक्त इजलासमा सुनुवाइका लागि पेसी तोकिएको हो।
डिभिजन सडक कार्यालय हेटौँडा, हेटौँडा उपमहानगरपालिका र जिल्ला प्रशासन कार्यालय मकवानपुरलगायत निकायहरूले सडक विस्तारको प्रक्रिया अघि बढाएपछि स्थानीय बासिन्दाले सम्पत्तिको अधिकार र उचित मुआब्जाको माग गर्दै मङ्सिर १६ गते सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। रिटमा सडक विभाग, सहरी विकास मन्त्रालय तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई समेत विपक्षी बनाइएको छ।
सर्वोच्च अदालतले यसअघि मङ्सिर ९ गते अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो। त्यसपछि मङ्सिर २६ गते न्यायाधीश मेघराज पोखरेलको इजलासले विपक्षीका नाममा कारण देखाऊ आदेश जारी गर्दै अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिएको थियो। सोही दिन न्यायाधीश कुमार रेग्मी र महेश शर्मा पौडेलको इजलासले मिसिल झिकाउने आदेशसमेत जारी गरेको थियो।
सडक विस्तारको विषयलाई लिएर स्थानीय तहदेखि सर्वोच्च अदालतसम्म विवाद चर्कँदै जाँदा मुद्दा पटक–पटक पेसीमा परे पनि अन्तिम टुंगो भने लाग्न सकेको छैन।
प्रकाशित मिति: २९ पुस २०८२, मंगलबार













प्रतिक्रिया