काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले पार्टीलाई एकताबद्ध बनाएर अघि बढाउन संस्थापन पक्ष पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएका छन्। मंगलबार पार्टी केन्द्रीय समिति बैठकअघि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले नेतृत्वको कारणले कांग्रेस विभाजन नहुने स्पष्ट पारे।
संस्थापन पक्षले पार्टी एकता जोगाउन लचकताका साथ निरन्तर संवाद गरिरहेको उल्लेख गर्दै प्रवक्ता महतले अहिलेको अवस्थामा पार्टी फुट्नु कसैको हितमा नभएको जिकिर गरे। उनले काठमाडौंमा भइरहेका विशेष महाधिवेशन पक्षधरका गतिविधि पार्टी, मुलुक र जनताको हितविपरीत रहेको टिप्पणी गरे।
पार्टी विभाजनले लोकतन्त्र र राष्ट्रिय राजनीतिमा नकारात्मक असर पार्ने भएकाले आफूहरू हरसम्भव एकताको प्रयासमा लागेको उनले बताए। ‘हाम्रो कारणले पार्टी फुट्दैन, हामी अत्यन्तै लचकताका साथ संवाद गरेर पार्टीलाई एकजुट बनाउने प्रयास गरिरहेका छौँ,’ महतले भने।
उनले पार्टी एकता कायम राख्न विशेष महाधिवेशन पक्षधरलाई पनि जिम्मेवार र लचक हुन आग्रह गरे। एकपक्षीय रूपमा अघि बढ्नुभन्दा वार्ता र सहमतिमार्फत सबै समस्याको समाधान खोज्नुपर्नेमा जोड दिँदै महतले असन्तुष्ट पक्षलाई संवादको टेबुलमा आउन पुनः अपिल गरे।
प्रकाशित मिति: २९ पुस २०८२, मंगलबार













प्रतिक्रिया