काठमाडौं । नेपाली कांग्रेसका नेता श्यामकुमार घिमिरेले पार्टी विभाजनबाट जोगिन महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले नै सक्रिय भूमिका खेल्नुपर्ने बताएका छन्।
मंगलबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै घिमिरेले भने, ‘पार्टी विभाजनतर्फ गए पार्टीले पनि ठूलो क्षति भोग्छ र महामन्त्रीहरूले पनि चुनाव तथा आफ्नो प्रतिष्ठा गुमाउँछन्। पार्टी फुटाएर गएपछि महाधिवेशनमा भाग लिन पाउने अवस्था हुँदैन। त्यसैले म विश्वस्त छु कि उहाँहरू सहमतिमा पुग्नुहुनेछ।’
उनले थपे, ‘पार्टी फुटाएर कसैले फाइदा उठाउन सक्दैन। कुनै न कुनै सम्झौतामा सबै पुग्छन्। पार्टी फुटाउने बाटोमा योग्य र लोकप्रिय नेताहरू नलाग्नु नै उत्तम हुन्छ। किनभने यसले कांग्रेसलाई घाटा पुर्याउँछ, तर सबैभन्दा बढी क्षति महामन्त्रीहरूले भोग्नु पर्छ।’
सञ्चारकर्मीले सोधे, ‘यदि सहमति नआएमा महामन्त्रीहरूलाई कारबाही गरिने हो?’ घिमिरेले भने, ‘उहाँहरूले अर्को पार्टी बनाए भने अलग्गै निष्कासन गर्नै पर्दैन, आफैं निष्काशन भइसकेको हुनेछ।’
प्रकाशित मिति: २९ पुस २०८२, मंगलबार












प्रतिक्रिया