काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन निर्वाचन समितिले आज साँझ साढे ७ बजेसम्म उम्मेदवारी दर्ता गर्ने कार्यतालिका तय गरेको छ। निर्वाचन समितिका संयोजक सीताराम केसीका अनुसार साँझ ६:३० बजेदेखि ७:३० बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ र सो समयपछि मनोनयनका लागि थप समय नदिइने स्पष्ट गरिएको छ।
‘साँझ ६:३० देखि ७:३० बजेसम्म उम्मेदवारी दर्ता हुन्छ। अब समय थप हुँदैन,’ केसीले भने, ‘मतदानसहितको परिमार्जित कार्यतालिका सार्वजनिक गर्दैछौँ। राति मतदान हुँदैन, भोलि बिहानबाट निर्वाचन कार्यक्रम निरन्तर अघि बढ्छ।’
यसैबीच, विशेष महाधिवेशनको बन्द सत्र झण्डै ९ घण्टादेखि निरन्तर चलिरहेको छ। चिया र भोजनका लागि समेत औपचारिक ब्रेक नलिई बन्द सत्र जारी राखिएको जनाइएको छ। महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा सम्पूर्ण समय बन्द सत्रमै उपस्थित रहेको जानकारी दिइएको छ।
सचिवालयका अनुसार बन्द सत्र अझै करिब दुई घण्टा चल्नेछ र प्राप्त सुझावहरू समेटिनेछन्। आज साँझ दुई महामन्त्रीको सम्बोधनपछि मात्र बन्द सत्र समापन हुने बताइएको छ।
प्रकाशित मिति: २९ पुस २०८२, मंगलबार













प्रतिक्रिया