काठमाडौं । आईसीसी ट्वेन्टी–२० विश्वकपको तयारीस्वरूप नेपाली राष्ट्रिय क्रिकेट टोलीले श्रीलंका र भारतमा अभ्यास खेल खेल्ने भएको छ । हाल रुपन्देहीस्थित एक्सट्राटेक ओभलमा तयारी गरिरहेको नेपाली टोली प्रशिक्षण तथा अभ्यास खेलका लागि माघको पहिलो साता श्रीलंका प्रस्थान गर्ने तय भएको छ ।
श्रीलंकामा नेपालले त्यहाँको ए टोलीसँग माघ ६, ८ र १० गते तीन वटा अभ्यास खेल खेल्नेछ । श्रीलंका भ्रमणपछि नेपाली टोली भारत जाने कार्यक्रम रहेको छ ।
भारतको मुम्बईमा माघ १३ र १४ गते दुई दिन प्रशिक्षण गरेपछि नेपालले मुम्बई क्रिकेट एसोसिएसनको एमसीए प्रेसिडेन्ट ११ टोलीसँग दुई वटा ट्वेन्टी–२० अभ्यास खेल खेल्नेछ । पहिलो खेल माघ १५ गते दिउँसो तथा दोस्रो खेल माघ १७ गते डे–नाइटमा हुने जनाइएको छ ।
त्यसपछि नेपाली टोली मुम्बईमै आयोजना हुने विश्वकपअन्तर्गत समूह चरणका खेलमा सहभागी हुनेछ । फेब्रुअरी ७ देखि भारत र श्रीलंकाले संयुक्त रूपमा आयोजना गर्ने विश्वकपको १० औँ संस्करणमा नेपाल समूह ‘सी’ मा परेको छ ।
समूह ‘सी’ मा नेपालसहित दुई पटकको विश्वकप विजेता इङ्ल्याण्ड, वेष्ट इण्डिज, बंगलादेश र इटाली रहेका छन् । नेपालले आफ्नो पहिलो खेल फेब्रुअरी ८ मा इङ्ल्याण्डविरुद्ध खेल्नेछ ।
प्रकाशित मिति: ३० पुस २०८२, बुधबार












प्रतिक्रिया