काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशनमार्फत पार्टीको नेतृत्व चयन प्रक्रिया अघि बढ्ने बाटो खुलेको बताएका छन् । शेरबहादुर देउवा समूहको केन्द्रीय समितिको बैठकले आफू, अर्का महामन्त्री विश्वप्रकाश शर्मा लगायतलाई पाँच वर्षका लागि निष्कासन गर्ने निर्णय गरेपछि थापाले यस्तो प्रतिक्रिया दिएका हुन् ।
थापाका अनुसार पार्टी आधिकारिक रूपमा विशेष महाधिवेशनको पक्षमा रहेको र अब नेतृत्व चयनमा अलमलिनुपर्ने अवस्था नरहेको छ । उनले विशेष महाधिवेशनको मनोनयन प्रक्रिया सकिएको र उम्मेदवारको नामावली सार्वजनिक हुने क्रममा रहेको बताए । संवादका प्रयास भए पनि सफल हुन नसकेको उनको भनाइ छ ।
पार्टीको आधिकारिकता कसको भन्ने प्रश्नमा थापाले विधिवत र विधानअनुसार नेतृत्व चयन हुने प्रक्रियामै कांग्रेसको वैधता रहेको दाबी गरे । साथै, विशेष महाधिवेशनबाट निर्वाचित नेतृत्वबारे आजै निर्वाचन आयोगलाई जानकारी गराइने उनले बताए ।
देउवासँगको अन्तिम संवादबारे उल्लेख गर्दै थापाले वैशाखमा स्वतः अलग हुने भनाइ आएको भए पनि अहिले निष्क्रिय बस्ने अवस्था नरहेको बताए । देश, समाज र कार्यकर्ताले थप पर्खिन नसक्ने परिस्थितिका कारण निर्णय लिनुपरेको उनको भनाइ छ ।
प्रकाशित मिति: ३० पुस २०८२, बुधबार













प्रतिक्रिया