काठमाडौं । यूएईका कलेजमा अध्ययनका लागि पठाइदिने भन्दै लाखौँ ठगीको अभियोगमा पाँचजना पक्राउ
काठमाडौं । प्रहरीले यूएईका विभिन्न कलेजहरूमा अध्ययनका लागि पठाइदिने भन्दै लाखौँ ठगी गरेको अभियोगमा पाँचजनालाई पक्राउ गरेको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले उनीहरूलाई पक्राउ गरेको हो । उनीहरूलाई बुधबार (पुस ३०) पक्राउ गरिएको सीआईबीका प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठले जानकारी दिएका छन् ।
पक्राउ पर्नेहरूमा काठमाडौं- ११ मा बेस्ट पाथ एजुकेसन प्रा.लि.का सञ्चालक नुवाकोटका २९ वर्षीय कृष्ण थापा, काठमाडौंको नारायणगोपाल चोकमा मेरकी एजुकेसन कन्सलटेन्सी प्रा.लि.का सञ्चालक कपिलबस्तुका रामचन्द्र टन्डन छन् ।
त्यस्तै, काठमाडौं-३१ मा सिटीहब एजुकेसन नेटवर्क प्रा.लि.का सञ्चालक ३१ वर्षीय सुवास सिलवाल क्षेत्री, लाजिम्पाटको कान्तिपुर एब्रोड कन्सलटेन्ट प्रा.लि.का सञ्चालक दार्चुलाका ४८ वर्षीय हेमराज भट्ट र कान्तिपुर एब्रोड कन्सल्टेन्ट प्रा.लि.कै सञ्चालक सिन्धुपाल्चोकका ४८ वर्षीय दामोदर ढकाल छन् ।
उनीहरूले फ्रान्स तथा अष्ट्रेलियालगायत मुलुकका विश्वविद्यालयहरूबाट मान्यताप्राप्त यूएईमा रहेका कलेजहरूमा क्रेडिट ट्रान्सफर समेत हुने कोर्सको अध्ययनका लागि यूएई पठाइदिने भने झुक्यानमा पारेका प्रवक्ता श्रेष्ठले जानकारी दिएका छन् ।
उनीहरूले प्रतिव्यक्ति आठ लाखदेखि बाइस लाखसम्म लिने गरेको देखिएको प्रहरीले जानकारी दिएको छ । “पीडितहरू मध्ये हालसम्म दिएको १३ जनाको जाहेरी दरखास्तको आधारमा सम्मानित काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिई” उनीहरूलाई पक्राउ गरिएको प्रवक्ता श्रेष्ठले जानकारी दिएका छन् । यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
प्रकाशित मिति: ३० पुस २०८२, बुधबार












प्रतिक्रिया