काठमाडौं  सभामुख देवराज घिमिरेले माघे संक्रान्तिजस्ता नेपाली चाडपर्वहरूले आपसी मेलमिलाप, सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई सुदृढ बनाउँदै लोकतान्त्रिक मूल्य र सहअस्तित्वको भावनालाई थप मजबुत बनाउने विश्वास व्यक्त गरेका छन्।

माघे संक्रान्ति तथा माघी पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूलाई सुख, शान्ति, सुस्वास्थ्य र समृद्धिको शुभकामना व्यक्त गर्दै सभामुख घिमिरेले यस्ता चाडपर्वले समाजलाई सकारात्मक दिशातर्फ अघि बढाउने बताएका हुन्।

उनले माघी, माघे संक्रान्ति वा मकर संक्रान्तिका रूपमा मनाइने यस पर्वलाई थारू समुदायले नयाँ वर्षका रूपमा, मगर समुदायले राष्ट्रिय पर्वका रूपमा, नेवार समुदायले ‘घ्यूचाकु सँल्हु’का रूपमा तथा तराई–मधेसका विभिन्न समुदायले ‘नहान’ पर्वका रूपमा आ–आफ्नै मौलिक परम्परासहित मनाउँदै आएको उल्लेख गरे। यी विविध परम्पराहरूले नेपालको साझा राष्ट्रिय पहिचान झल्काउने उनको भनाइ छ।

जाडोलाई विदाइ गर्दै न्यानोपन, आशा र नयाँ ऊर्जाको सन्देश बोकेको माघे संक्रान्ति पर्व नेपाली समाजमा आस्था, परम्परा र सामाजिक एकताको महत्वपूर्ण प्रतीकका रूपमा स्थापित रहेको उनले बताए। सूर्य उत्तरायणतर्फ प्रवेश गर्ने यस दिनले प्रकृतिको चक्रसँग मानव जीवनको घनिष्ठ सम्बन्ध स्मरण गराउने उल्लेख गर्दै माघे संक्रान्तिमा पवित्र नदी, त्रिवेणी तथा तीर्थस्थलमा स्नान, पूजा–अर्चना, दान–पुण्य गर्ने र घिउ, चाकु, तिल, तरुल, खिचडीजस्ता पोषिलो परिकार सेवन गर्ने परम्पराले नेपाली समाजलाई प्रकृतिमैत्री र मानवीय मूल्यमा आधारित बनाउन योगदान पुर्‍याएको सभामुख घिमिरेले बताएका छन्।

अन्त्यमा उनले माघे संक्रान्ति तथा माघी पर्वले सबै नेपालीमा सकारात्मक सोच, सामाजिक उत्तरदायित्व र समृद्धिको बाटोमा अघि बढ्ने प्रेरणा प्रदान गरोस् भन्ने कामनासहित पुनः हार्दिक शुभकामना व्यक्त गरेका छन्।

प्रकाशित मिति: १ माघ २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com