काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै विभिन्न राजनीतिक दलहरू चुनावी सहकार्य र गठबन्धनको तयारीमा जुटेका छन्। यसैक्रममा नेकपा (एमाले) ले नेपाली कांग्रेससँग चुनावी सहकार्य गर्न सकिने संकेत दिएको छ।
नेकपा (एमाले) का सचिव महेश बस्नेतले कांग्रेस दुई कित्तामा विभाजन भएको अवस्थामा संस्थापन पक्षसँग सहकार्य हुने स्पष्ट पारेका छन्। काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले लोकतन्त्रको रक्षा र जनताले ठूलो संघर्षबाट प्राप्त गरेका अधिकार तथा उपलब्धिहरू जोगाउनका लागि कांग्रेसको विभाजन दुःखद् भएको बताए।
सचिव बस्नेतले भने, “कांग्रेस विभाजन हुनु दुःखद् विषय हो। यदि परिस्थितिवश दुईवटा कांग्रेसमध्ये एउटासँग सहकार्य गर्नुपर्ने अवस्था आयो भने स्वाभाविक रूपमा एमालेले कांग्रेसको संस्थापन पक्ष, शेरबहादुर देउवाले नेतृत्व गर्नुभएको कांग्रेससँग नै सहकार्य गर्छ।
उनका अनुसार लोकतान्त्रिक मूल्य–मान्यता, संविधान र राजनीतिक स्थायित्वको पक्षमा उभिन एमाले तयार रहेको छ। आगामी निर्वाचनलाई लिएर दलहरूबीच सम्भावित सहकार्यबारे राजनीतिक वृत्तमा चासो बढ्दै गएको छ।
प्रकाशित मिति: १ माघ २०८२, बिहिबार













प्रतिक्रिया