काठमाडौं । उत्तरी मकवानपुरका जयराम लामिछाने नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्। गगन कुमार थापाको नेतृत्वमा उनी खुल्ला तर्फ केन्द्रीय सदस्यमा सर्वसम्मत चयन भएका हुन्।
मकवानपुरको थाहा नगरपालिका वडा नम्बर–९ निवासी लामिछाने पहिलो पटक पार्टीको केन्द्रीय तहको महत्वपूर्ण जिम्मेवारीमा पुगेका हुन्। उनले २०७० सालको संविधानसभा निर्वाचनमा मकवानपुर–२ बाट उम्मेदवारी दिएका थिए, जहाँ तेस्रो स्थानमा सीमित हुन पुगेका थिए।
लामिछाने यसअघि नेपाली कांग्रेस मकवानपुरको सभापति पदमा पराजित भइसकेका नेता हुन्। २०७८ सालमा सम्पन्न कांग्रेस मकवानपुरको १४औँ महाधिवेशन अन्तर्गतको जिल्ला अधिवेशनमा इतर पक्षबाट उम्मेदवार बनेका उनी पहिलो चरणमै पराजित भएका थिए। उक्त निर्वाचनमा संस्थापन पक्षका उम्मेदवार बुद्ध लामा र आनन्द पराजुली विजयी भएका थिए।
यसअघि लामिछाने दुई कार्यकालसम्म कांग्रेस मकवानपुर जिल्ला सदस्यको रूपमा सक्रिय रहेका थिए। उत्तरी मकवानपुर क्षेत्रमा कांग्रेसको संगठन निर्माण र विकास निर्माणका काममा उनी सक्रिय भूमिका निर्वाह गर्दै आएका छन्। पेशाले निर्माण व्यवसायी रहेका लामिछाने नेपाल निर्माण व्यवसायी संघका पूर्व अध्यक्ष समेत हुन्।
तत्कालीन सभापति इन्द्रबहादुर बानियाँ दुई कार्यकाल जिल्ला सभापति रहँदा उनी मनोनित सदस्य बनेका थिए। पछि बानियाँसँग सम्बन्ध बिग्रिएपछि लामिछाने इतर समूहको नेता बनेर सभापति पदमा उम्मेदवार बनेका थिए।
सभापति पदमा पराजित भए पनि महाधिवेशन प्रतिनिधिका रूपमा सक्रिय रहेका लामिछाने विशेष महाधिवेशनका क्रममा गगन कुमार थापालाई समर्थन गर्दै अघि बढेपछि केन्द्रीय सदस्यमा चयन भएका हुन्। २०७० पछि उनले कुनै पनि निर्वाचनमा सहभागिता जनाएका छैनन्।
प्रकाशित मिति: २ माघ २०८२, शुक्रबार












प्रतिक्रिया