काठमाडौं । नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले सामाजिक सञ्जाल तथा राष्ट्रिय झन्डाको दुरुपयोग बढ्दै गएको भन्दै यसलाई नियन्त्रण गर्न निर्वाचन आयोगले प्रभावकारी कदम चाल्नुपर्ने बताएका छन्।
निर्वाचन आयोगले आयोजना गरेको आचारसंहिता सम्बन्धी छलफल कार्यक्रममा बोल्दै उनले आधुनिक सूचना प्रविधिको गलत प्रयोग बढिरहेको र यसले निर्वाचनको निष्पक्षतामा असर पार्न सक्ने भन्दै चिन्ता व्यक्त गरे।
उनले भने, ‘पहिले बल प्रयोगको दुरुपयोग हुन्थ्यो, त्यसपछि पैसाको दुरुपयोग बढ्यो, अहिले भने सूचना प्रविधिको दुरुपयोग तीव्र रूपमा बढिरहेको छ। यसलाई नियन्त्रण गर्ने दायित्व निर्वाचन आयोगले निर्वाह गर्नुपर्छ।’
राष्ट्रिय झन्डाको दुरुपयोग पनि गम्भीर विषय भएको भन्दै उनले विरोध प्रदर्शन र आक्रमणात्मक गतिविधिमा समेत राष्ट्रिय झन्डाको प्रयोग भइरहेको बताए। ‘सिंहदरबार जलाउन जाँदा, मन्त्रीलाई आक्रमण गर्न जाँदा वा राष्ट्रपतिविरुद्ध प्रदर्शन गर्दा समेत राष्ट्रिय झन्डा बोकेर गएको देखिन्छ। यस्तो अवस्थामा प्रहरीले के गर्ने ? राष्ट्रिय झन्डा बोकेकालाई लाठी हान्ने कि नहान्ने ? त्यसैले राष्ट्रिय झन्डालाई राजनीतिक प्रतिस्पर्धा र निर्वाचनसँग जोडिन दिनु हुँदैन,’ उनले भने।
साथै उनले निर्वाचनअघि नै कसलाई भोट दिने भनेर सार्वजनिक रूपमा घोषणा गर्ने प्रवृत्ति रोक्नुपर्नेमा जोड दिए। ‘अग्रिम मतदाता बन्ने वा चुनावअघि नै फलानालाई भोट दिन्छु भनेर घोषणा गर्ने काम बन्द हुनुपर्छ। यसलाई निर्वाचन आयोगले तत्काल नियन्त्रण गर्नुपर्छ,’ उनले बताए।
प्रकाशित मिति: २ माघ २०८२, शुक्रबार













प्रतिक्रिया