काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौँका विभिन्न स्थानमा अस्थायी रूपमा विद्युत् आपूर्ति बन्द गर्ने जनाएको छ। प्राधिकरणले जारी गरेको सूचनाअनुसार महाराजगञ्ज वितरण केन्द्रअन्तर्गतका क्षेत्रमा बिजुली कटौती गरिनेछ।
काठमाडौँ उपत्यका मध्य तथा उत्तर वितरण प्रणाली सुदृढीकरण आयोजनाअन्तर्गत राष्ट्रपति भवन शीतल निवास क्षेत्रको वितरण प्रणाली भूमिगत गर्ने कार्य भइरहेको छ। सो क्रममा भूमिगत कार्य सम्पन्न भइसकेका केबलमा प्राविधिक उपकरण जडान गर्नुपर्ने भएकाले विद्युत् आपूर्ति बन्द गर्न लागिएको प्राधिकरणले जनाएको छ।
सूचनाअनुसार पानीपोखरी फिडर अन्तर्गत साङ्ग्रिला होटल अगाडि, लाजिम्पाट, पानीपोखरीका विभिन्न क्षेत्र, महाराजगञ्ज तथा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल आसपासका क्षेत्रमा आज बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म बिजुली कटौती हुनेछ।
त्यसैगरी राष्ट्रपति भवन, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो तथा नेपाल प्रहरी अस्पताल आसपासका क्षेत्रमा पनि सोही समयमा विद्युत् आपूर्ति बन्द रहनेछ। साथै बालुवाटार, चुनदेवी र पञ्चकन्या आसपासका क्षेत्रहरूमा पनि बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म बिजुली कटौती हुने जनाइएको छ।
बिजुली कटौतीका कारण पर्न सक्ने असुविधाप्रति प्राधिकरणले क्षमायाचना गरेको छ। तोकिएको काम निर्धारित समयभन्दा अगावै सम्पन्न भएमा त्यसअघि नै विद्युत् आपूर्ति पुनः सुचारु हुन सक्ने पनि प्राधिकरणले स्पष्ट पारेको छ।
प्रकाशित मिति: ३ माघ २०८२, शनिबार













प्रतिक्रिया