काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले पदबाट राजीनामा दिने अन्तिम तयारी गरेका छन् । उनीनिकट स्रोतका अनुसार सम्भवतः आज राति वा भोलिसम्म बालेनले मेयर पदबाट राजीनामा दिने तयारी गरेका हुन् ।
फागुन २१ गते हुने निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्न माघ ६ गतेअघि नै राजीनामा दिनुपर्ने कानुनी व्यवस्था रहेको छ । सोही तयारीअनुसार बालेनले समयमै पद त्याग गर्न लागेका स्रोतको भनाइ छ ।
राजीनामा दिएपछि बालेन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कार्यालय पुग्ने कार्यक्रम तय भएको छ । त्यसपछि माघ ५ गते जनकपुरमा आयोजना हुने रास्वपाको पहिलो चुनावी घोषणासभामा पार्टी सभापति रवि लामिछाने र बालेन एउटै मञ्चमा देखिने कार्यक्रम रहेको बताइएको छ ।
बालेनले झापा–५ बाट उम्मेदवारी दर्ता गर्ने तयारी गरेका छन् । यसका लागि उनका सहायक स्वकीय सचिव नवीन भण्डारीको नेतृत्वमा सम्पर्क कार्यालय व्यवस्थापनको काम अघि बढाइएको छ ।
बालेनले राजीनामा दिएपछि काठमाडौं महानगरपालिकाको कार्यवाहक प्रमुखको जिम्मेवारी उपमेयर सुनिता डंगोलले सम्हाल्नेछिन् । महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंका अनुसार कानुनअनुसार मेयरले राजीनामा दिएपछि उपमेयर स्वतः कार्यवाहक मेयर बन्ने व्यवस्था छ ।
मेयरज्यूले उपमेयरसमक्ष राजीनामा दिनु भएपछि कानुनी रूपमा उपमेयर नै कार्यवाहक मेयर बन्नुहुन्छ, गुरागाईंले बताए ।
बालेनले पाँच वर्षे कार्यकालको करिब डेढ वर्ष बाँकी रहँदै मेयर पदबाट राजीनामा दिन लागेका हुन् ।
प्रकाशित मिति: ३ माघ २०८२, शनिबार













प्रतिक्रिया