काठमाडौं । नेकपा एमालेले गोरखा–२ निर्वाचन क्षेत्रबाट आपराधिक पृष्ठभूमिका चक्रे मिलन (मिलन गुरुङ) लाई उम्मेदवार बनाउने निर्णय गरेको छ । च्यासलमा बसेको पार्टी सचिवालय बैठकले उनलाई टिकट दिने निर्णय गरेको हो ।
उक्त निर्णयबारे जानकारी दिँदै उपमहासचिव लेखराज भट्टले गोरखा–१ बाट भने पूर्व विद्यार्थी नेता आरसी लामिछानेलाई उम्मेदवार बनाइएको बताए ।
चक्रे मिलन विवादास्पद व्यक्ति रूपमा परिचित छन् । उनी पटक–पटक पक्राउ परेर हिरासत र जेलसमेत पुगेका छन् । पछिल्लो पटक उनी गत साउनमा पक्राउ परेका थिए । त्यतिबेला काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले महाराजगञ्जस्थित एक होटलबाट उनलाई अन्य व्यक्तिसहित नियन्त्रणमा लिएको थियो ।
सर्वसाधारणलाई आतंकित पार्ने गतिविधि गरेको आरोपमा उनी पक्राउ परेका थिए भने उक्त मुद्दामा धरौटीमा रिहा भएका थिए । यसअघि उनीविरुद्ध भक्तपुरमा ज्यान मार्ने उद्योगसम्बन्धी अर्को मुद्दा पनि दर्ता भएको थियो । काठमाडौंको मुद्दाबाट छुटेपछि उनलाई भक्तपुर पठाइएको थियो, जहाँ भक्तपुर जिल्ला अदालतले पनि धरौटीमा रिहा गर्ने आदेश दिएको थियो ।
प्रकाशित मिति: ४ माघ २०८२, आइतबार












प्रतिक्रिया