एजेन्सी । ग्रीनल्यान्ड खरिद योजनाको विरोध गर्ने आठ युरोपेली देशमाथि अतिरिक्त भन्सार महसुल (ट्यारिफ) लगाउने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चेतावनीपछि युरोपेली संघ (ईयू) का केही देशका राजदूतहरू आइतबार आकस्मिक बैठक बस्दैछन्।
ट्रम्प प्रशासनले फेब्रुअरी १ देखि लागू हुनेगरी डेनमार्क, नर्वे, स्वीडेन, फ्रान्स, जर्मनी, बेलायत, नेदरल्यान्ड्स र फिनल्यान्डमाथि १० प्रतिशत अतिरिक्त भन्सार लगाउने घोषणा गरेको छ। आगामी जुन १ देखि यो महसुल २५ प्रतिशतसम्म बढाइने जनाइएको छ।
अमेरिकाले ग्रीनल्यान्डको “पूर्ण र निर्विवाद” खरिद सम्झौता नगरेसम्म उक्त ट्यारिफ कायम रहने ट्रम्प प्रशासनको अडान छ। यस कदमको बेलायती प्रधानमन्त्री केयर स्टारमरले कडा आलोचना गर्दै नेटो सहयोगी राष्ट्रहरूमाथि कर लगाउनु “पूर्णतः गलत” भएको बताएका छन्।
फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले ट्रम्पको योजना अस्वीकार्य भएको बताएका छन्। यसैबीच, शनिबार डेनमार्कका विभिन्न सहरसहित ग्रीनल्यान्डको राजधानी नूकमा ट्रम्पको अधिग्रहण योजनाविरुद्ध प्रदर्शनहरू भएका थिए।
रोयटर्सका अनुसार, आइतबार साँझ ४ बजे (जीएमटी) ईयूका राजदूतहरूको आकस्मिक बैठक बस्ने तय भएको छ।
प्रकाशित मिति: ४ माघ २०८२, आइतबार












प्रतिक्रिया