विराटनगर । जनकपुरबाट धरानको भेडेटार जाने शैक्षिक भ्रमणमा आएको निजी विद्यालयको बस दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ।
इलाका प्रहरी कार्यालय धरानका प्रहरी नायव उपरीक्षक भीषण बहादुर राईका अनुसार मृतकहरू झापाका उमेश राई, सुनसरी बराहक्षेत्रका नयन थापा मगर, धरान–१३ की शुभेच्छा सुब्बा, जनकपुरका १८ महिनाका बालक रिसवकुमार मण्डल र धैर्यकुमार यादव रहेका छन्। दुर्घटनामा परी अन्य १७ जना घाइते भएका छन्।
दुर्घटना आइतबार दिउँसो करिब ४ बजेर १० मिनेट जिरो प्वाइन्ट धरानमा भएको हो। दुर्घटनामा परेको बस जनकपुरस्थित इन्टरनेशनल टेम्स एकेडेमीको को १ ख ७११९ नम्बरको बस हो, जसमा विद्यार्थी नभई शिक्षक र कर्मचारीहरू सवार थिए।
प्रारम्भिक अनुसन्धान अनुसार, भेडेटार घुमेर फर्कँदै गर्दा बस अनियन्त्रित भई सडक छेउको एक मेडिकल पसलमा ठोकिएको थियो। यस क्रममा सडकमा पल्टिँदा दुर्घटना भएको र स्कुटर पनि क्षतिग्रस्त भएको डिएसपी राईले जानकारी दिए।
घाइते १७ जनालाई उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ। घाइतेमध्ये धरान–१३ की यशोदा श्रेष्ठको पहिचान खुलेको छ भने अन्यको विवरण सङ्कलन भइरहेको छ।
प्रकाशित मिति: ४ माघ २०८२, आइतबार













प्रतिक्रिया