काठमाडौं । नेपाली कांग्रेसभित्र चुनावी टिकट बाँडफाँटलाई लिएर शीर्ष नेताहरूबीच अनौपचारिक कसरत तीव्र भएको छ। सहमति जुटाउने उद्देश्यसहित बुधबार राति काठमाडौँको धुम्बाराहीस्थित एक होटलमा तीन प्रमुख गुटका नेताहरूबीच लामो छलफल भएको छ।
विशेष महाधिवेशनपछि संस्थापन पक्ष मानिने सभापति गगन थापा समूहका केन्द्रीय सदस्यद्वय मधु आचार्य र देवराज चालिसे, पूर्वसभापति शेरबहादुर देउवा समूहका नेता रमेश लेखक तथा नेता डा. शेखर कोइराला समूहका वरिष्ठ नेता डा. मिनेन्द्र रिजाल एउटै टेबलमा बसेर संवाद गरेका थिए। छलफल मुख्यतः निर्वाचन टिकट वितरणको मापदण्ड र गुटगत सन्तुलन कसरी मिलाउने भन्ने विषयमा केन्द्रित रहेको वार्तामा सहभागी एक नेताले बताए।
छलफलपछि नेता लेखक र डा. रिजालले सोही होटलमै रहेका पार्टी सभापति गगन थापासँग छुट्टै भेटवार्ता गरेका थिए। आसन्न निर्वाचनका लागि टिकट टुङ्ग्याउन दबाब बढ्दै गएपछि नेताहरूले आन्तरिक समन्वय र संवादलाई गति दिएका छन्।
टिकट बाँडफाँटको विवाद समाधानका लागि आज पनि छलफल गर्ने तयारी भइरहेको छ, तर बैठकको समय भने अझै तय भइसकेको छैन।
प्रकाशित मिति: ५ माघ २०८२, सोमबार












प्रतिक्रिया