काठमाडौं । पछिल्लो समय मन्त्रीहरूले एकपछि अर्को गर्दै राजीनामा दिएपछि उनीहरूको जिम्मेवारी प्रधानमन्त्री सुशीला कार्कीले आफैं सम्हालेकी छन्।
आइतबार युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ता, सोमबार सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेल र मंगलबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले पदबाट राजीनामा दिएका थिए।
मन्त्रीहरूले राजीनामा दिएपछि प्रधानमन्त्री कार्कीले ती मन्त्रालयहरूको कार्यभार अस्थायी रूपमा आफैंलाई तोक्न सिफारिस गरेकी थिइन्। सोही सिफारिसअनुसार राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीलाई ती मन्त्रालयहरूको जिम्मेवारी प्रदान गरेको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ।
राष्ट्रपति कार्यालयद्वारा मंगलबार जारी विज्ञप्तिमा भनिएको छ,
‘सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले सम्माननीय प्रधानमन्त्री श्री सुशीला कार्कीज्यूको सिफारिसमा मौजुदा मन्त्रिपरिषद्का शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री श्री महावीर पुन, सञ्चार तथा सूचना प्रविधि मन्त्री श्री जगदीश खरेल र युवा तथा खेलकुद मन्त्री श्री बब्लु गुप्ताले नेपालको संविधान बमोजिम प्रधानमन्त्री समक्ष राजीनामा दिनुभएको हुँदा निजहरूले सम्हाली आउनुभएको मन्त्रालयहरूको कार्यभार समेत प्रधानमन्त्री स्वयम्ले सम्हाल्ने गरी तोक्नुभएको छ।’
गुप्ता र खरेलले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिनका लागि राजीनामा दिएका हुन्। यस्तै, महावीर पुनले पनि म्याग्दीबाट स्वतन्त्र उम्मेदवारी दिएका छन्।
प्रकाशित मिति: ६ माघ २०८२, मंगलबार













प्रतिक्रिया