काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले आगामी निर्वाचनमा देश निर्माणको एजेन्डा बोकेका शक्तिभन्दा देशलाई कमजोर बनाउने योजनासहित केही पात्रहरू सक्रिय रहेको बताएका छन्।

फागुन २१ गते हुने निर्वाचनको सन्दर्भमा आफ्नो धारणा सार्वजनिक गर्दै उनले लोकतन्त्र, संविधान र जनताको लामो संघर्षबाट प्राप्त उपलब्धिहरू खारेज गर्न खोज्ने शक्तिहरू राजनीतिको मैदानमा देखा परेको उल्लेख गरे। उनका अनुसार ती शक्तिहरूको लक्ष्य देश र जनताको जीवनस्तर परिवर्तन गर्नु नभई डिजिटल ‘अल्गोरिदम’को खरिद–बिक्रीमाध्यमबाट सत्ता कब्जा गर्नु हो।

advertisement

‘देश सकाउने योजनासहित आएका पात्रहरू सक्रिय छन्। लोकतन्त्र, संविधान र जनताको लामो संघर्षबाट प्राप्त उपलब्धिहरू मेटाउन खोज्ने यस्ता शक्तिहरू जनताको जीवन परिवर्तन गर्न होइन, अल्गोरिदमको खरिद–बिक्री गरेर सत्ता हात पार्न राजनीतिमा प्रवेश गरेका छन्,’ बस्नेतले बताएका छन्।

उनले सामाजिक सञ्जाल र डिजिटल माध्यममार्फत सिर्जना गरिने कृत्रिम आवाजहरू जनताको वास्तविक आवाज नभएको दाबी गरे। सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले ‘उनीहरूका साइबर फ्याक्ट्रीबाट निस्केका आवाजहरू जनताको चाहना होइनन्। भ्रम, झुट र हेरफेरमार्फत जनमत कब्जा गर्ने यो खतरनाक प्रयासलाई समयमै चिन्न जरुरी छ,’ भनेका छन्।

बस्नेतले यस्ता प्रवृत्तिप्रति सबै नागरिक सजग हुनुपर्नेमा जोड दिँदै अल्गोरिदममार्फत देश कब्जा गर्न खोज्ने शक्तिबाट लोकतन्त्र, संविधान र जनताको भविष्य जोगाउनु आजको मुख्य चुनौती भएको बताएका छन्।

प्रकाशित मिति: ७ माघ २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com