काठमाडौं ।  नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक सम्पत्ति जलाउने र तोडफोड गर्ने कार्यमा संलग्नलाई कानुनको दायरामा ल्याएर कारबाही गर्नुपर्ने बताएका छन्।

बुधबार आफ्नै गृह जिल्ला झापामा ‘जेनजी आन्दोलन’का क्रममा भएको आगजनी र तोडफोडबाट क्षतिग्रस्त संरचनाहरूको अवलोकन गर्दै अध्यक्ष ओलीले सार्वजनिक सम्पत्तिमाथि गरिएको आक्रमण आपराधिक गतिविधि भएको स्पष्ट पारे।

advertisement

उनले सार्वजनिक सम्पत्ति, नगरपालिका तथा राजनीतिक कार्यकर्ताका घर–कार्यालयमा आगजनी गर्ने कार्य कुनै पनि हालतमा स्वीकार्य नहुने उल्लेख गरे। अपराधलाई प्रोत्साहन गर्न नहुने भन्दै उनले शान्तिपूर्ण र बस्नलायक देश निर्माणका लागि अपराध नियन्त्रण अनिवार्य रहेको बताए।

“राष्ट्रिय सम्पत्ति, सार्वजनिक सम्पत्ति, नगरपालिका तथा राजनीतिक कार्यकर्ताको घर–कार्यालय जलाउने कार्य आपराधिक हुन्। अपराधलाई प्रोत्साहन गर्न सकिँदैन। अपराध रोक्नुपर्छ र शान्तिपूर्ण, बस्नलायक देश बनाउनुपर्छ। दोषीलाई कारबाहीको दायरामा ल्याउनैपर्छ। अरूको घर जलाएर उम्किन पाइँदैन, अध्यक्ष ओलीले भने।

अध्यक्ष ओलीले वर्तमान सरकारले अपराधीलाई जोगाउने काम गरिरहेको आरोपसमेत लगाए। अहिलेको सरकार सायद उनीहरूकै सरकार भएकाले दोषीलाई संरक्षण गरेको देखिन्छ, उनले टिप्पणी गरे।

अन्तरिम सरकार नै देश जलाउने प्रवृत्तिसँग जोडिएकाले अपराधीमाथि कारबाही नभएको उनको जिकिर थियो।

उल्लेखनीय छ, अध्यक्ष ओली आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सोमबार मात्र झापा पुगेका थिए। उनले झापा निर्वाचन क्षेत्र नम्बर ५ बाट प्रतिस्पर्धा गर्ने गरी उम्मेदवारी मनोनयन गराइसकेका छन्।

प्रकाशित मिति: ७ माघ २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com