काठमाडौं । हेटौँडाबाट काठमाडौँतर्फ जाँदै गरेको कुखुरा बोकेको बोलेरो गाडी दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ भने चालकसहित दुई जना घाइते भएका छन्। घाइतेहरूको काठमाडौँमा उपचार भइरहेको छ।
सर्लाहीबाट काठमाडौँ जाँदै गरेको मप्र०३–००१ च ६७२१ नम्बरको बोलेरो गाडी गएराति करिब १ बजे ब्रेक फेल भई दुर्घटनामा परेको हो। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ स्थित सिमखोला पुल नजिक भीमफेदी–कुलेखानी–काठमाडौँ सडकखण्डमा गाडी सडकबाट तल खोल्सामा खसेको थियो।
दुर्घटनामा सर्लाही बरहथवा नगरपालिका–१ का २५ वर्षीय चालक रामवली साह, १७ वर्षीय सहचालक रोहन मण्डल र १६ वर्षीय छोटे पासवान घाइते भएका थिए। उनीहरूलाई तत्काल उपचारका लागि काठमाडौँ पठाइएको थियो।
घाइतेमध्ये गम्भीर अवस्थामा रहेका मण्डलको उपचारका क्रममा बिहान ४ः४५ बजे काठमाडौँ मेडिकल कलेजमा मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ। अन्य दुई जनाको सोही अस्पतालमा उपचार जारी छ।
दुर्घटनामा बोलेरोमा रहेका ५०० कुखुरामध्ये करिब ३०० कुखुरा मरेका छन्।
प्रकाशित मिति: ८ माघ २०८२, बिहिबार












प्रतिक्रिया