सिराहा । प्रतिनिधि सभा सदस्य निर्वाचनलाई निष्पक्ष, सुरक्षित र शान्त वातावरणमा सम्पन्न गर्ने तयारी स्वरूप सिराहामा बहुपक्षीय सुरक्षा अभ्यास गरिएको छ। मिर्चैया नगरपालिकास्थित जीवा खोलाको बगर क्षेत्रमा बिहीबार उक्त अभ्यास सञ्चालन भएको हो।

जिल्ला सुरक्षा समितिको समन्वयमा नेपाली सेनाको चोहर्वा अवस्थित नन्दाबक्स गणको नेतृत्वमा संयुक्त निर्वाचन सुरक्षा अभ्यास गरिएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिए। कार्यक्रममा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र जिल्ला निर्वाचन कार्यालयका कर्मचारी गरी करिब चार सय जनाको सहभागिता रहेको थियो।

advertisement

अभ्यासको मुख्य उद्देश्य निर्वाचन अवधिमा मतदान केन्द्र र मतदान स्थलको सुरक्षा सुनिश्चित गर्नु, मतदान प्रक्रिया सञ्चालन गर्नु र सम्भावित अवाञ्छित गतिविधि नियन्त्रणका लागि सुरक्षाकर्मीलाई तयार पार्नु रहेको थियो। साथै विभिन्न आकस्मिक तथा जोखिमपूर्ण परिस्थितिमा अपनाउनुपर्ने सुरक्षा कार्यविधिबारे प्रदर्शन गरिएको थियो।

प्रमुख जिल्ला अधिकारी पौडेलका अनुसार चारवटै निर्वाचन क्षेत्रमा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई तालिम प्रदान भइसकेको छ। आवश्यकताअनुसार आगामी १५ फागुनसम्म नमुना मतदान अभ्याससमेत सञ्चालन गरिने तयारी छ।

संयुक्त अभ्यासबाट निर्वाचन सुरक्षामा संलग्न सबै निकायबीच आपसी समन्वय, सहकार्य र कार्यगत तयारी अझ प्रभावकारी हुने अपेक्षा गरिएको छ। कार्यक्रममा जिल्ला सुरक्षा समितिका सदस्यहरूसँगै जिल्ला मुख्य निर्वाचन अधिकृत डा। श्रीप्रकाश उप्रेती, नेपाली सेनाका नं. २७ बाहिनीका सहायक रथी नारायणबहादुर थापा, निर्वाचन क्षेत्र नं. ४ का निर्वाचन अधिकृत शिव वाग्ले र जिल्ला निर्वाचन अधिकारी राजन श्रीवास्तवको उपस्थिति रहेको थियो।

जिल्ला निर्वाचन कार्यालय सिराहाका अनुसार जिल्लाका चार निर्वाचन क्षेत्रमा कुल ४ लाख ५३ हजार ६४५ मतदाता छन्। तीमध्ये पुरुष २ लाख ४१ हजार ६१५, महिला २ लाख १२ हजार २८ र अन्य दुई मतदाता रहेका छन्। क्षेत्रगत रूपमा १ देखि ४ नम्बरका क्षेत्रमा क्रमशः ५६, ५४, ५३ र ६० मतदान स्थल रहेका छन् भने कुल मतदान केन्द्रको संख्या ५३१ रहेको छ।

प्रकाशित मिति: ८ माघ २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com