वेलिङटन । न्युजिल्यान्डको नर्थ आइल्याण्डमा भीषण वर्षापछि आएको पहिरोमा परेर कम्तीमा दुई जनाको मृत्यु भएको छ भने कयौँ मानिस अझै बेपत्ता छन्।

वेलकम बे क्षेत्रमा दुई जनाको ज्यान गएको पुष्टि भएको अधिकारीहरूले जनाएका छन्। यसैबीच माउन्ट माउङ्गानुइस्थित लोकप्रिय क्याम्प ग्राउन्डमा उद्धारकर्मीहरूले भग्नावशेषमा खोजी कार्य जारी राखेका छन्। अधिकारीहरूका अनुसार उद्धार अभियान रातभर चलाइनेछ।

advertisement

घटनास्थलमा हालसम्म जीवनको कुनै स्पष्ट सङ्केत फेला नपरेको जनाइएको छ। बेपत्ता हुनेहरूको यकिन संख्या आउन बाँकी छ भने बेपत्तामध्ये एक बालिका पनि रहेको प्रारम्भिक जानकारी प्राप्त भएको छ।

पछिल्ला केही दिनदेखि निरन्तर परेको वर्षाका कारण पहिरो गएको बताइएको छ। वर्षाका कारण नर्थ आइल्याण्डका विभिन्न स्थानमा बाढी आएको छ भने विद्युत् सेवा पनि अवरुद्ध भएको छ। एक मन्त्रीले पूर्वी तटीय क्षेत्रलाई “युद्ध क्षेत्रजस्तै” देखिएको टिप्पणी गरेका छन्।

प्रधानमन्त्री क्रिस्टोफर लक्जनले सामाजिक सञ्जालमार्फत देश गहिरो शोकमा डुबेको बताएका छन्। माउन्ट माउङ्गानुइ माओरी समुदायका लागि पवित्र स्थल हुनुका साथै पर्यटकहरूको लोकप्रिय गन्तव्य पनि हो। यो क्षेत्र यसअघि पनि पटक–पटक पहिरोको जोखिममा पर्दै आएको बताइएको छ।

प्रकाशित मिति: ८ माघ २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com