काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले वसन्त पञ्चमी तथा सरस्वती पूजाका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई शुभकामना व्यक्त गरेका छन्।
आज शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति पौडेलले माघ शुक्ल पञ्चमीका दिन विद्याकी देवी माता सरस्वतीको पूजा–आराधना गरी मनाइने वसन्त पञ्चमी तथा सरस्वती पूजाको अवसरमा नेपाली दिदीबहिनी, दाजुभाइ तथा सम्पूर्ण बालबालिकामा हार्दिक शुभकामना व्यक्त गरेका हुन्।
माता सरस्वतीलाई शिक्षा, ज्ञान र सङ्गीतकी देवीका रूपमा मानिने परम्परा रहेको उल्लेख गर्दै उनले यस शुभदिनमा बालबालिकालाई घरमै अक्षरारम्भ गराउने वा विद्यालय भर्ना गर्ने चलन रहिआएको बताए। साथै, सङ्गीतप्रेमीहरूका लागि सरस्वती साधना गर्ने प्रमुख दिनका रूपमा पनि वसन्त पञ्चमीलाई लिइने परम्परा रहेको उनको भनाइ छ। नवीन कार्यको प्रारम्भ, विवाह, व्रतबन्ध जस्ता शुभकार्यका लागि पनि यही दिन रोज्ने चलन रहिआएको उनले उल्लेख गरे।
राष्ट्रपति पौडेलले वसन्त श्रवण र सरस्वती पूजा केवल औपचारिकता मात्र नभई जीवनलाई ऊर्जाशील बनाउँदै नवीन खोज र सिर्जनातर्फ प्रेरित गर्ने अवसर भएको बताए। वसन्त पञ्चमीको प्राकृतिक महत्त्व उल्लेख गर्दै उनले वसन्त ऋतुको प्रारम्भ, सूर्य उत्तरायण हुँदै जानु, दिन लामो र रात छोटो हुँदै जाँदा मौसम क्रमशः न्यानो बन्ने प्रक्रियाले नेपाली जनजीवन र प्रकृतिबीचको घनिष्ठ सम्बन्धलाई दर्साउने बताए।
विद्यासँगको नाता र ज्ञानको परिपूर्तिका रूपमा वसन्त पञ्चमीले सबैमा प्रेरणा प्रदान गर्ने विश्वाससमेत राष्ट्रपति पौडेलले व्यक्त गरेका छन्।
प्रकाशित मिति: ९ माघ २०८२, शुक्रबार












प्रतिक्रिया