काठमाडौं। देशमा हाल पश्चिमी वायुको आंशिक प्रभाव कायमै रहेकाले आज विभिन्न स्थानमा मौसम बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आज दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्यतया बदली रहनेछ भने अन्य प्रदेशका पहाडी भू–भागमा आंशिक बदली हुने अनुमान छ। तराईका अधिकांश क्षेत्रमा भने मौसम प्रायः सफा रहने पूर्वानुमान गरिएको छ।
सुदूरपश्चिम प्रदेशका केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ भने कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपात हुन सक्ने महाशाखाले जनाएको छ।
आज राति बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा मौसम सामान्यतया बदली रहनेछ भने बाँकी क्षेत्रमा आंशिक बदली रहने अनुमान छ। लुम्बिनी, कर्णाली, सुदूरपश्चिम र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको छ।
त्यसैगरी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम हिमपात हुन सक्ने पूर्वानुमान गरिएको छ। साथै, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघगर्जन, चट्याङ र असिनासहित वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।
मौसममा आउने परिवर्तनका कारण दैनिक जनजीवन, पर्यटन, स्वास्थ्य सेवा तथा हवाई र सडक यातायात प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले सबैलाई आग्रह गरेको छ।
प्रकाशित मिति: ९ माघ २०८२, शुक्रबार












प्रतिक्रिया