काठमाडौं। २०६४ को संविधानसभा निर्वाचनमा सबेभन्दा धेरै मत ल्याएर आफ्ना प्रतिद्वन्द्वीलाई देशमै सबैभन्दा धेरै मत अन्तरले पराजित गरेका पूर्वप्रधानमन्त्री एवम् गोरखा क्षेत्र नम्बर २ का उम्मेदवार डा. बाबुराम भट्टराई यस पटकको निर्वाचनमा भने आफूले हार्न सक्ने त्रासले ग्रस्त छन्।

आफ्नो पुरानो विरासत जोगाउने चुनौतीको भारीले थिचिएका भट्टराई आफ्नो जितको सम्भावना बलियो बनाउन प्रयासरत छन्। यही प्रयासको क्रममा भट्टराईले नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचणडलाई पनि भेटे।

भट्टराईले २०७९ को निर्वाचनमा प्रचण्डलाई आफ्नो क्षेत्र छोडिदिएका थिए। साथमा भट्टराईले नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार लेखनाथ न्यौपानेसँग तालमेलको प्रस्ताव समेत गरेको स्रोत बताउँछ।

यद्यपि न्यौपानेले भने आफू धेरै अगाडि बढिसकेको भन्दै प्रस्ताव अस्वीकार गरेका छन्। न्यौपाने माओवादीको भातृ संगठन अखिल क्रान्तिकारीका पूर्वअध्यक्ष रहिसकेका छन्। विगतमा न्यौपाने माओवादी पृष्ठभूमिका बाबुराम भट्टराईकै कार्यकर्ता थिए।

तर, अहिले भने भट्टराईका अगाडि आफ्नै पूर्व कार्यकर्ता चुनौतीको रूपमा उभिएका छन्। यहाँ एमालेबाट आपराधिक पृष्ठभूमिका चक्रे मिलन र रास्वपाबाट महामन्त्री कविन्द्र बुर्लाकोटी उम्मेदवार छन्।

निर्वाचन आयोगले निर्धारण गरेको निर्वाचन तालिकाअनुसार आज उम्मेदवारी फिर्ता लिने दिन हो। न्यौपानेले आज उम्मेदवारी फिर्ता नलिए निर्वाचन प्रक्रिया अगाडि बढ्छ र न्यौपाने उम्मेदवारको रूपमा कायमै रहन्छन्।

भट्टराईले न्यौपानेलाई फिर्ता हुन आग्रह गरेको भए पनि न्यौपाने भने पार्टीका स्थानीय नेता कार्यकर्ताको आफूलाई बलियो समर्थन रहेको भन्दै पछि हट्न तयार नभएको स्रोत बताउँछ।

प्रकाशित मिति: ९ माघ २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com