काठमाडौं। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दिनेको सङ्ख्या आजसम्म देशभरबाट तीन हजार ४०६ जना छन्।

निर्वाचन आयोगको तथ्याङ्कअनुसार दर्ता गराएका उम्मेदवारमध्ये तीन हजार १७ पुरुष र ३८८ महिला रहेका छन्। उम्मेदवारमध्ये २५ देखि ४० वर्ष उमेर समूहका एक हजार ५६ जना छन्भने ४१ देखि ६० वर्ष उमेर समूहका एक हजार ९२५ छन्। त्यसैगरी ६१ वर्षभन्दा माथिका चार सय २५ जना छन्।

advertisement

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले आज दिउँसो आयोजित साप्ताहिक पत्रकार सम्मेलनमा विभिन्न निर्वाचन क्षेत्रबाट हालसम्म ४९ जना उम्मेदवारले उम्मेदवारी फिर्ता लिएको जानकारी दिएका थिए।

उम्मेदवारी दर्तादेखि फिर्ता लिनेसम्म निर्वाचन कार्यक्रम शान्तिपूर्ण र उत्साहजनक रूपमा सम्पन्न भएको आयोगले जनाएको छ। समानुपातिक निर्वाचन प्रणालीअन्तर्गतका उम्मेदवारको नामावली पनि प्रकाशित भइसकेको छ र माघ १० गतेसम्म दाबीविरोधको समय दिइएको छ।

समानुपातिक प्रणालीका लागि राजनीतिक दलहरूले गत पुस १३ र १४ गते बन्दसूची पेस गरेका थिए। माघ १० गते दाबीविरोधको समय सकिएपछि अन्तिम नामावली प्रकाशित गरिने जानकारी पनि आयोगले दिएको छ।

प्रकाशित मिति: ९ माघ २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com